
महिलाहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले शुक्रवार गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ ।
हत्या, हिंसा र बलात्कारका घटना दिनानुदिन बढिरहेको भन्दै राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्तीकुमारी शाहीको नेतृत्वको गृहमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापनपत्रमार्फत् संगठनले १३ वटा माग अघि सारेको छ । महिला विरुद्ध हुने हिंसा, बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्नुपर्ने, सार्वजनिक यातायातमा हुने हिंसा रोक्न सुरक्षा निकाय परिचालन गर्दै ठाउँको ठाउँ कारबाही गर्नुपर्ने, हरेक विद्यालयका बालिकालाई आत्मरक्षाका लागि तालिमको व्यवस्था गर्नुपर्ने, महिला हिंसा रोक्न ठोस नीति बनाएर कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएको छ ।
यस्तै हिंसापीडितहरूका लागि सुरक्षित उद्धार केन्द्र स्थापना गर्नुपर्ने, विद्यालयमा हिंसा रोक्न छुट्टै सेल गठन गर्नुपर्ने, नाबालिका र वृद्ध महिलामाथि हुने हिंसा, बलात्कारजस्ता घटनामा कानून संशोधन गरेर कडा बनाउनुपर्नेलगायतका माग पनि गरिएको अध्यक्ष अञ्जना शाह रावलले जानकारी दिइन् ।

