
रुपन्देहीको सैनामैना नगरपालिका–४ (साविक पर्रोहा गाविस–१) मुर्गियाका ३६ वर्षीय जीवन दमाई र सुन्तली दमाई (नाम परिवर्तन) को १० वर्षअघि विवाह भयो ।
प्रेम सम्बन्धमा रहेका दुवैले भागेर काठमाडौं आई विवाह गरेका थिए । कहिले काठमाडौंकै विभिन्न निजी कार्यालयमा त कहिले ग्यारेज, कलकारखानामा काम गर्दै आफ्नो जीवन गुजारा गरिरहेका थिए, जीवन ।
त्यो बीचमा दुवै जनाले कमाएको पैसा धेरथोर बचत पनि गरेका थिए ।
काठमाडौं आएर अन्यको सहाराविनै दुवै जनाले काम गर्दै आफ्नो जीवन चलाइरहेका थिए । त्यो बीचमा छोरी र छोराको जन्म भयो । त्यसपछि जीवन एक्लैले कमाउनुपर्ने बाध्यता आयो ।
उनले कमाइरहेका थिए । जीवनलाई त्यो समयमा उपत्यकामा भएका दोहोरी साँझ जाने बानी पर्यो ।
उनले कमाएको सबै पैसा दोहोरीमा खर्चिन थाले । छोराछोरीको जन्मपछि आर्थिक अवस्था कमजोर भयो, त्यही विषयलाई लिएर पतिपत्नीबीच विवाद हुन थाल्यो ।
त्यो विवाद यतिसम्म चर्कियो कि दुवैबीच हात हालाहाल समेत हुने गर्दथ्यो । सुन्तलीले जीवनलाई समय–समयमा विदेश गएर पैसा कमाउन आग्रह गर्दै आएकी थिइन् ।
दोहोरी साँझमा जाने बानी परेका जीवनका गलत साथीभाइको संगत हुन थाल्यो । जीवनले आफू विदेश जानुभन्दा पनि पत्नीलाई विदेश पठाएर आफूले ‘मोज’ गर्ने योजना बनाए ।
उनी सुन्तलीलाई फकाउन थाले । करीब २–३ महिना फकाएपछि सुन्तली विदेश जान राजी भइन् ।
पैसा ऋण खोजेर विदेशका लागि पासपोर्ट बनाइदिए । जीवनले भिसा पनि लगाइदिएर सुन्तलीलाई खाडी मुलुक ओमान पठाए ।
सुन्तलीले गएको पहिलो महिनादेखि जीवनलाई पैसा पठाउन थालिन् । जीवनले प्रहरीलाई दिएको बयान अनुसार उनले प्रतिमहिना ५०–६० हजार रुपैयाँका दर पैसा पठाउँथिन् ।
जीवन त्यो पैसाले दोहोरी जाने र रमाइलो गर्ने गर्दथे । सुन्तलीले पठाएको पैसाले करीब ६ महिनासम्म दोहोरी साँझमा साथीभाइ लगेर रमाइलो गरे ।
छोराछोरीलाई वास्ता नगर्ने र कुटपिट गर्ने खालका गतिविधि जीवनले गरिरहेका थिए ।
त्यो कुरा सुन्तलीले अन्य व्यक्तिबाट थाहा पाइन् । सुन्तलीले जीवनलाई पैसा पठाउन छाडिन् ।
आफन्तलाई छोराछोरी हेरचाहका लागि पैसा पठाउन थालिन् । त्यो थाहा पाएपछि जीवन रिसले आगो भए । उनले सुन्तलीलाई फोन गरेर मानसिक तनाव दिन थाले ।
जीवनले फोनमा सुन्तलीलाई जथाभावी गाली गर्न थाले । प्रहरीमा आएको उजुरीमा जीवनले फोनमा अश्लील अपशब्द प्रयोग गर्ने गर्दथे ।
फोनमा दिनानुदिन झगडा भए पनि सुन्तलीले ‘पति हो एक दिन सुध्रिएला’ भनेर बसेकी थिइन् ।
एक दिन जीवनले फोनमा तथानाम र चरित्रमाथि नै प्रश्न उठ्ने खालका गाली गर्दै अब आइन्दा तँ मेरो बुढी पनि होइनस्, म तेरो श्रीमान् पनि होइन’ भनेर फोन काटे ।
त्यसपछि जीवनले सामाजिक सञ्जाल फेसबूकको नक्कली आईडी खोलेर पत्नीको फोटो राखेर शब्दहरू लेखेर पोस्ट गरे ।
त्यति मात्र होइन, त्यसको ‘स्क्रिनसर्ट’ गरेर आफन्त बुवाआमालाई पठाउने गरेको साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले बताए ।
‘उसलाई साथीले फेक आईडी खोलेर फोटो हाल भनेर सल्लाह दिएको रहेछ । त्यसैले उसले आफ्नै श्रीमतीको फोटोमा जथाभावी लेखेर पोस्ट गरेको बयान बताएका छन्,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने ।
प्रहरीको बयानमा जीवनले विदेश जाने महिला यौनधन्दामा पनि लागेर पैसा कमाउने गरेको सुनेकाले ‘मेरी बुढी पनि त्यस्तै भई’ भनेर फोटो हालेको बताएका छन् ।
प्रहरीले उनलाई सुन्तलीका आफन्तको जाहेरीका आधारमा असार २४ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
जीवनलाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।