३० असार २०८३, मंगलबार
प्रचण्डको दिल्ली यात्रा

दिल्लीमा कोरिएको भावी राजनीतिको ‘रोडम्याप’– चुनावपछिको पहिलो प्रधानमन्त्री प्रचण्ड !

साउन १, २०७९
दिल्लीमा कोरिएको भावी राजनीतिको ‘रोडम्याप’– चुनावपछिको पहिलो प्रधानमन्त्री प्रचण्ड !

वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको पूर्वसन्ध्यामा सत्तारुढ दलका एक नेताले दिल्लीको भ्रमण गरेको थिए । सत्तारुढ भाजपा, कांग्रेसआई, केही साना वामपन्थी दल र बुद्धिजीवीसँग समेत भेट गरेका उनले भारतीय संस्थापनको निचोड यसरी सुनाए–

– नेपाली कांग्रेस र शेरबहादुर देउवालाई नजिक राख्ने, सहयोग गर्ने र नेपालभित्र अनुकूल वातावरण बनाइदिने । 

– नेकपा एमालेलाई टाढा जान नदिने, ज्यादै नजिक पनि नल्याउने । केपी ओलीसँग समदूरीको सम्बन्ध राख्ने ।

– माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग व्यक्तिगत रूपमा रुष्ट । उनीहरूलाई सहयोग नगर्ने ।

दिल्लीले ‘नरुचाएका’ प्रचण्डबाट आकस्मिक रूपमा भएको भारत भ्रमणले नेपालको राजनीतिमा ठूलै तरंग निम्त्याएको छ । चुनावको मिति घोषणा नहुँदै भावी प्रधानमन्त्रीका रूपमा उनलाई चित्रित गर्न शुरू भइसकेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय संस्थापन पक्षको सम्बन्ध त्यति सुध्रिएको थिएन, भलै दोस्रोपटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जानुअघि प्रचण्डले मोदीसँग मेरो ‘केमेस्ट्री’ मिल्छ भनेर अन्तर्वार्ता दिएका थिए । प्रचण्डले दाबी गरे पनि मोदीले केमेस्ट्री मिलेको स्वीकारेका छैनन् ।

भारतमा कांग्रेस आईको नेतृत्व छँदा १२ बुँदे समझदारी गरेर प्रचण्ड शान्ति प्रक्रियामा आएका थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भारतले भूमिका खेलेको स्व. प्रणव मुखर्जीले विदेशमन्त्री रहेको बेला एक अन्तर्वार्तामा बताएका थिए । प्रचण्ड नेपालको राजनीतिको केन्द्रमा आएपनि कांग्रेस आईको ओरालो यात्रा शुरू भयो । कांग्रेसआई सत्ताच्युत भएपछि भाजपासँग नेपालको माओवादीको ट्युनिङ मिलेन । 

घनिष्टता नभएपनि प्रचण्डको दिल्ली आउजाउ चलिरह्यो । पहिलोपटक सत्ताबाट बाहिरिनु पर्दाको पीडा प्रचण्डले सडकबाट ‘मालिकसँग वार्ता गर्ने’ भन्दै भारतविरुद्ध आगो ओकलेका थिए । तत्कालीन राजदूत राकेश सूदविरुद्ध कयौं ठाउँमा कालोझण्डा र विरोध प्रदर्शन भएका थिए । नेपालीहरूले बिर्से पनि ती कुरा भारतीयले बिर्सिएका थिएनन् ।

सिद्धान्ततः भाजपा हिन्दू धर्मको पक्षमा छ र नेपाल पनि हिन्दूसापेक्ष होस् भन्ने चाहन्छ । यो कुरा उत्तर प्रदेशका मुख्यमन्त्रीले खुलेआम रूपमा भन्ने गरेका छन् । तर, प्रचण्ड धर्मनिरपेक्षताका हिमायती रहँदै आएका छन् । यस्तै कारणले भाजपासँग प्रचण्डको सामिप्यता स्थापित हुन सकेको थिएन । 

यति हुँदाहुँदै पनि प्रचण्ड भाजपाको कार्यालय पुगेर नयाँ ढंगले सम्बन्ध बनाउन चाहेजस्तो देखिँदैछ ।

 

औपचारिक रूपमा भाजपाको कार्यालय पुग्ने प्रचण्ड दोस्रो नेपाली नेता बनेका छन् । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले भाजपा कार्यालयको भ्रमण गरेका थिए ।

प्रचण्डलाई भारतले दिएको महत्त्व 

विमानस्थलदेखि नै प्रचण्डले भारतको ‘न्यायो’ आतिथ्यता पाएका छन्, भलै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन सकेन ।

विमानस्थलको भीआईपी गेटबाट दिल्ली अवतरण गरेका प्रचण्डका अन्य भेटघाटमा पनि भारतीय पक्षले महत्त्व दिएको देखिन्छ । 

भाजपा मुख्यालयमा भएको भेटमा विदेश मन्त्री डा. एस जयशंकर उपस्थित भए । कूटनीतिक प्रोटोकल बिर्सेर प्रचण्डले शनिवार उनकै निवासमा गएर जयशंकरलाई भेटेका थिए ।

भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेट

पूर्वप्रधानमन्त्रीले एकजना मन्त्रीलाई भेट्न निवासमा गएको विषय उठ्न सक्छ । विगतमा भारतीय विदेशमन्त्रीलाई भेट्न लर्को लागेर द्वारिकाज होटलमा पुगेको भन्दै नेपालका पूर्व प्रधानमन्त्रीहरूको चर्को विरोध भएको थियो । 

जयशंकर तिनै पात्र हुन् जसले विदेश सचिव हुँदादेखि नै नेपाल मामिलामा हस्तक्षेपकारी भूमिका खेलेका थिए । २०७२ सालमा संविधान जारी गर्ने समयमा मोदीको ‘विशेष दूत’ बनेर आएका जयशंकरले संविधानमा केही सरोकार राखेका थिए । 

प्रचण्डसँगको भेटबारे जयशंकरले नेपाली भाषामै दुईलाइन ट्वीट गर्दै लेखेका छन्– ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिविम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

जयशंकरको प्रस्ताव तीरस्कृत भएपछि नेपालले संविधान जारी गरेको थियो । बदलामा अमानवीय नाकाबन्दीको सामना गर्नुपर्‍यो । र, त्यसयता पनि जयशंकर नेपालको राजनीतिक मामिलामा हावी हुँदै आएका छन् । भाजपा अध्यक्ष जेपी नाड्डासँगको भेटमा जयशंकरको उपस्थिति अर्थपूर्ण छ । 

भारतमा रहँदा प्रचण्डले सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गरेका छन् । डोभललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘ब्रेन’ भन्ने गरिन्छ । यो भ्रमणको चाँजोपाँजो मिलाउने डा. विजय चौथाइवाले हुन् । उनकै संस्थाले आकस्मिकरूपमा तयार भएको भनिएको कार्यक्रममा प्रचण्डले सम्बोधन गरे । त्यो एउटा कर्मकाण्ड थियो । खास कुरो राजनीतिक भेटवार्ता नै हो ।

प्रचण्ड–आरजु आलोपालो प्रधानमन्त्रीको ‘अफवाह’ !

संयोग वा पूर्वनिर्धारित कार्यक्रमले गर्दा प्रचण्डले दिल्ली भ्रमण गर्दा प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भारतमै थिइन् ।

नेपालमा प्रतिपक्षी दल र सधैँ कन्स्पिरेसी थ्योरी बुन्न उद्दत् एउटा पंक्तिले यही भ्रमणको क्रममा भारतीय नेताहरूको मध्यस्थतामा प्रचण्ड–आरजुबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको अफवाह चलाइरहेका छन् । 

सामाजिक सञ्जालमा त केही नक्कली सहमतिपत्र बनाएर प्रोपागाण्डा मच्चाउन शुरू गरिएको छ । संयोग हो या देखाउनका लागि प्रचण्ड र आरजुले शनिवार बिहान दिल्ली दूतावासमा सँगै ब्रेकफास्ट गरे । प्रचण्डभन्दा झण्डै १० मिनेटअगाडि आरजु दूतावास पुगिन् । त्यहाँ प्रचण्ड र आरजुबीच ब्रेकफास्ट मिटिङ चल्यो । 

पति शेरबहादुर देउवलाई ‘पश्चिमा’ ट्याग लगाउने गरिएकोमा आरजुले भारतसँग सम्बन्ध सुधार गरेकी छिन् । जनैपूर्णिमामा ‘राखी कूटनीति’मार्फत आरजुले विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेमार्फत भाजपासँग सम्बन्ध विस्तार गरेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट देउवापछि आरजु प्रधानमन्त्री बन्छिन् भनेर जोडतोडले हल्ला मच्चाइएको छ ।  

प्रचण्ड, आरजु र नेपाली राजदूत डा. शर्मा

दुईपटक छोटो–छोटो समय प्रधानमन्त्री बनेका प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका थिए– पर्वतारोहण संघको कार्यक्रममा असार १० गते ।

तेस्रोपटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगमा लैजाने सपना रहेको उनले सुनाएका थिए ।

विगतमा ओलीसँग आलोपालोको उधारो सम्झौता गर्दा धोका खाएका प्रचण्डले यसपटक नगदमा खोजेका छन्, मंसिरको चुनावपछिको पहिलो कार्यकालको प्रधानमन्त्री । 

मंसिरको चुनावपछि देशलाई कता लैजाने भन्ने राजनीतिको साँचो आफ्नो हातमा रहेको दाबी गर्ने प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवा तयार छन् ।

शनिवार कांग्रेस केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले प्रचण्ड र माधव नेपाललाई छाड्न नसक्ने बताएका थिए ।

पढ्नुहोस् यो पनि :

भावी प्रधानमन्त्रीको रूपमा एकप्रकारको मनोविज्ञान तयार गरेर प्रचण्डले देशभित्र अनुकूल वातावरण निर्माण गर्ने कोशिश गर्नेछन् । माओवादीसँग पावर शेयरिङ गर्दा पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई छाड्नुपर्ने अवस्थामा देउवा राष्ट्रपति बन्न सक्छन् । यद्यपि कांग्रेस नेताहरू त्यति गहिराइमा गएर कुरा नभएको बताउँछन् । 

हुन त बिहीवार र शनिवार केन्द्रीय समितिको बैठकमा देउवाले पार्टीलाई पहिलो बनाएर सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा दोहोर्‍याएका छन् ।

डा. शेखर कोइराला पक्षलाई घुर्की लगाउन विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि सभापति बन्छु भनेपनि देउवाले मंसिरपछि कार्यकारी पदमा नरहने खालको संकेत गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । 

जहाँसम्म आरजु प्रधानमन्त्री बन्ने कुरा छ, देउवाले चाहँदैमा पनि त्यति सहजचाहिँ छैन । परिवारवादको राजनीतिविरुद्ध दक्षिण एसियाली मुलुकहरूमा भइरहेका आन्दोलनका कारण पनि देउवाले चाहँदैमा आरजु प्रधानमन्त्री बन्न मुस्किल छ । 

गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको कांग्रेसको नयाँ पुस्ता आरजुलाई प्रधानमन्त्री स्वीकार्न तयार होला भन्न गाह्रो छ । सँगसँगै कांग्रेसमा एउटा त्यस्तो लेयर छ– जसले गगन थापा र विश्वप्रकाश शर्मालाई अहिले पनि नेविसंघको नेता देख्छ । यही केन्द्रीय कमिटी बैठकमा पनि केशवकुमार बुढाथोकीले महामन्त्रीमा केटाकेटीपन देखिएको भनेर टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री बन्नका लागि चुनाव जितेर मात्र पुग्दैन, संसदीय दलको नेता बन्नुपर्छ । देउवाले टिकट बाँडेका र समानुपातिक सूचीमा राखेका सांसदले सहजै गगनलाई संसदीय दलको नेता बनाउने छैनन् । संसदीय दलको नेता बन्न गगनलाई भन्दा आरजुलाई सहज हुन सक्छ । 

१७ वर्षपछि दिल्लीमा बनेको अर्को ‘रोडम्याप’

माओवादी अध्यक्ष प्रचण्डको भारत भ्रमणप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सशंकित छ । बालकोटको बुझाइमा प्रचण्डको भ्रमणमा तीन उद्देश्य लुकेका छन् । 

पहिलो– चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउको भ्रमणबारे ब्रिफिङ । 

दोस्रो– चुनावमा पनि यही गठबन्धनलाई निरन्तरताको अनुमोदन अर्थात् वाम गठबन्धन नगर्ने वाचा ।

र, तेस्रो– चुनावपछिको प्रधानमन्त्रीको सुनिश्चितता । 

पहिलो आरोप प्रचण्डले शुक्रवार स्वदेशमै खण्डन गरिसकेका छन् । ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो, तर मेरो भ्रमणका लागि डेढदुई महिनाअघिदेखि नै कुरा भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका नेता आउने/जाने कुरासँग कुनै सम्बन्ध छैन । अनावश्यक कन्फ्युजन कसैलाई नरहोस्,’ प्रचण्डले भारत उड्नुअघि विमानस्थलमा भनेका थिए । दिल्ली नजाँदै प्रश्न उठेपछि प्रचण्डले स्पष्टीकरण दिएका थिए । 

देशको पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्रीको दाबेदार नेताले एक देशको नेतासँग भएको कुरा अर्को देशमा गएर सुनाउनु मुर्खता गर्छ भनेर पत्याउन कठिन छ । अरूलाई लान्छित गर्न र आरोप लगाउन कुनै प्रमाण पनि चाहिएन ।

चुनावमा यही गठबन्धन निरन्तर कायम रहन्छ भनेर प्रचण्डले भन्दै आएका छन् । नेपाली राजनीतिको ‘मक्का मदिना’ भनिने दिल्लीले नेपालमा कस्तो गठबन्धनलाई फेबर गर्छ भन्ने कुराले ठूलै अर्थ राख्ने गरेको छ ।

भन्न मिलेपनि/नमिलेपनि प्रचण्डले भारतबाट फर्किँदा गठबन्धनको सुनिश्चितता लिएर आउने निश्चित छ ।

आइतवार बिहान पोखरा पुगेर एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको आरोप लगाएका छन् । 

प्रचण्ड फर्केलगत्तै सरकारले चुनावको मिति घोषणा गर्दैछ, यो संयोग नभई पूर्वनिर्धारित हो ।


मंसिर ४ गते चुनाव गर्ने गरी साउन ४ गते सरकारले चुनावको मिति घोषणा गर्ने कांग्रेस महामन्त्री थापाले सार्वजनिक कार्यक्रममा भनिसकेका छन् । 

२०६२ साल मंसिरमा भएको १२ बुँदे सहमतिपछि सशस्त्र संघर्षमा रहेको माओवादी र संसदवादी दल मिलेर नेपालमा दोस्रो जनआन्दोलन सम्पन्न भएको थियो । 

जनआन्दोलन दबाउन भूमिका खेलेका कमल थापाले १२ बुँदे समझदारीलाई काँकडभिट्टा र महेन्द्रनगरको गन्तव्यमा हिँडेका दलहरूको सहकार्य नारायणगढसम्म मात्र हो भन्ने गर्दथे ।

१२ बुँदे सहमतिकै गोरेटोमा नेपालको राजनीति हिँडिरहेको छ । 

लिखितरूपमा १२ बुँदे समझदारी भएको १७ वर्षपछि दिल्लीमा केही अलिखित समझदारी भएको आशंका गरिँदैछन्, जसले नेपाली राजनीतिको आगामी बाटो निर्धारण गर्नेछ ।

त्यस्तो कुनै चमत्कार भएन भने मंसिरको चुनावमा वाम गठबन्धनको च्याप्टर क्लोज भइसकेको छ । 

मोदी नभेट्दाको खल्लो !

भारत भ्रमणका जाने क्रममा शुक्रवार विमानस्थलमा प्रचण्डले उत्साहित रहेको बताएका थिए । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मोदीसँग भेटवार्ता हुने दाबी गरेका थिए । आइतवार बिहान भेटवार्ता हुने भनिएपनि मोदीले समय दिएनन् । मध्याह्न भाजपाको कार्यालयमा अध्यक्ष जेपी नाड्डासँगको भेटपछि प्रचण्डले ‘क्लाइमेक्स’ बाँकी रहेको बताएका थिए । 

तर, मोदीले समय नदिएपछि प्रचण्डले त्यो ‘क्लाइमेक्स’ भेट गर्न पाएनन् । माओवादी स्रोतका अनुसार भाजपाका तर्फबाट प्रचण्डलाई मोदीसँग भेटाउने आश्वासन दिइएको थियो । 

‘मोदीसँग भेट्ने पक्का भएपछि मात्र अध्यक्ष प्रचण्ड दिल्ली जान राजी हुनुभएको हो, भेट किन हुन सकेन त्योचाहिँ उहाँले ब्रिफिङ गरेपछि मात्र थाहा होला,’ माओवादीका एक नेताले भने ।

salt training

कमेन्ट गर्नुहोस्