३२ असार २०८३, बिहीबार

धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

गत वर्ष कात्तिकमा आएको बेमौसमी बाढीका कारण सुदूरपश्चिम प्रदेशमा धान खेतीमा क्षति पुगेपछि खाद्य संस्थानले यस वर्ष चामल खरिद गरेर ढुवानी गर्नुपरेको छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले ३२ हजार क्विन्टल मोटा चामल र पाँच हजार क्विन्टल जिरा चामल खरिद गरिरहेको छ ।

विगतमा धान खरिद गर्ने र चामल कुटाइ गरेर यहाँका पहाडी जिल्लामा ठेक्का प्रक्रियामार्फत चामल ढुवानी गर्दैै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले धान उत्पादनमा ह्रास र गणस्तरीय नभएपछि पहिलो पटक चामल खरिद गरिरहेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिम प्रदेशका प्रमुख एञ्जिला बस्नेतले चामल खरिद भइरहेको जानकारी दिइन् । “२० हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल जिरा चामल आइसकेको छ”, उनले भनिन्, “बाँकी १२ हजार क्विन्टल चालम आएपछि ठेकेदारमार्फत नै पहाडी जिल्लामा ढुवानी हुन्छ ।”

अहिले खाद्यान्न ढुवानीका लागि ठेक्का प्रक्रिया चलिरहेको उनको भनाइ छ । सुदूरपश्चिममा बाजुराका साथै बझाङ र दार्चुलाको हिमाली भेगमा खाद्य समस्या बढी हुने गरेको छ । गत वर्षको बाढीमा सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीमा क्षति पुगेको थियो । अन्न भण्डारका रूपमा रहेको कैलाली र कञ्चनपुरमा लगाएको धानमध्ये ३० प्रतिशत पूर्णरूपमा नोक्सान भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्