२४ असार २०८३, बुधबार

मर्दी ‘ट्रेकिङ रुट’मा थपिए पर्यटकीय पूर्वाधार निर्माण

मर्दी ‘ट्रेकिङ रुट’मा थपिए पर्यटकीय पूर्वाधार निर्माण

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलव्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ्रे गाउँपालिकाको अस्तामसम्म पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय पूर्वाधार’ निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मर्दी ट्रेकिङ रुटको मेलबोट–अस्ताम खण्डमा पैदलमार्ग, पार्क, रेलिङ लगायतका संरचना तयार गरिएको हो ।

गत वर्षदेखि मेलबोट–झिझिर्का–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पैदलमार्ग तथा पर्यटकीय पूर्वाधार र पार्क निर्माणको योजना अघि सारिएको हो । मेलबोटबाट पदयात्रा शुरू भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना छ ।

गण्डकी प्रदेश सरकारको गत वर्ष विनियोजन गरेको २५ लाख रुपैयाँ बजेटबाट पर्यटकीय पूर्वाधार र विभिन्न संरचना निर्माण गरिएको मेलवोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक एवं पर्यटन व्यवसायी विश्व अधिकारीले बताए । उनका अनुसार ३०० मिटर ढुंगाको छपनी बिछ्याएको सिँढी बाटो, ३११ मिटर रेलिङ, साइड वाल, ४ वटा चौतारी र पोखरी निर्माण गरिएको छ ।

अझै ५ वटा चौतारी र पोखरी पुनर्निर्माणको काम बाँकी छ । ४ सामुदायिक वन क्षेत्रमा पर्ने पदयात्रा क्षेत्रमा अप्ठ्यारो स्थानमा सिँढी बाटो निर्माण गरिए पनि पैदलमार्गको काम अझै बाँकी छ । प्रदेश सरकारले चालू वर्षमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएकाले थप काम अघि बढाइने उनले बताए ।

उनले भने, ‘पर्यटकीय पूर्वाधार निर्माणपछि पदयात्रामा आउने पर्यटक बढेका छन्, यो पैदलमार्ग रोजाइमा छ । योजना अनुसारका कामलाई पूर्णता दिन अझै धेरै काम बाँकी छन् ।’ पदयात्रा मार्गलाई अस्तामसम्म मोटर बाटोले नछुने भएकाले जंगलै जंगल भित्रबाट पदयात्रा हुनेछ । सुनझाँक्रीको थान, लालीगुराँसको जंगल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । 

मर्दी हिमाल पदयात्रामा जानका लागि हाल माछापुच्छ्रे गाउँपालिकाको धम्पुस, कालीमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा शुरू गर्न सकिन्छ ।

यसैगरी माछापुच्छ्रेकै कालीमाटी तथा सिदिङबाट समेत पदयात्रा गर्न सकिन्छ । समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा शुरू गर्ने गरी पैदलमार्ग निर्माण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्