हास्य कलाकार एवं जादुगरका रूपमा ख्याति कमाएका महादेव त्रिपाठीले विगतको घमण्डले अहिले आफूलाई पिरोलिरहेको बताएका छन् । कुनै समय देश विदेशका स्टेज कार्यक्रमहरूमा व्यस्त हुँदा आफूमा एकदमै घमण्ड रहेको त्रिपाठीले स्मरण गरेका छन् ।
‘खाना खाने समय पनि मलाई हुँदैनथ्यो । कतिखेर कहाँ कार्यक्रम, कतिखेर कहाँ म आफैमा भुल्थेँ’ त्रिपाठीले भनेका छन्, ‘त्यतिखेर म मा एकदमै धेरै घमण्ड थियो, एकदमै घमण्ड । मजस्तो डान्सर कोही छैन, मजस्तो जादुगर कोही छैन । म जस्तो कमेडियन कोही छैन । म जस्तो क्यारिकेचर गर्ने कोही छैन् जस्तो फिल हुन्थ्यो मलाई ।’
त्यो घमण्डले अहिले आफूलाई भित्रभित्र रुवाइरहेको त्रिपाठीले बताएका हुन् । उनले अहिले चर्चामा रहेका नेपालका चर्चित कलाकारहरूलाई समेत घमण्डलाई टाढै राख्न आग्रह गरेका छन् । टिकटकमा भिडियो पोष्ट गर्दै त्रिपाठीले यस्तो बताएका हुन् ।
महादेव कुनै समय देश विदेशका स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारमा पर्दथे । तर, आजका दिनमा उनको व्यस्तता, चर्चा निकै सुस्ताएको छ ।
महादेवले टिकटकमा सार्वजनिक भिडियोमा भनेका छन् –
नमस्ते, मेरा सम्पूर्ण दर्शकवृन्द, मेरा आफन्त र मेरा साथीभाइहरूमा म महादेव त्रिपाठी । आज टिकटक मार्फत म तपाईंहरूको माझमा केही दुई–चार कुरा राख्न चाहन्छु । यदी मेरो कुरालाई केही बुझिदिनुभयो भने कमेन्ट, शेयर गरिदिनु होला ।
म कुनै बेला मेला–महोत्सव, स्कुल–कलेजका स्टेज कार्यक्रमहरूमा एकदमै ब्यस्त थिए । त्यतिखेर यति व्यस्त थिए की, खाना खाने समय पनि मलाई हुँदैनथ्यो । कतिखेर कहाँ कार्यक्रम, कतिखेर कहाँ म आफैमा भुल्थेँ ।
त्यतिखेर म मा एकदमै धेरै घमण्ड थियो, एकदमै घमण्ड । मजस्तो डान्सर कोही छैन, मजस्तो जादुगर कोही छैन । मजस्तो कमेडियन कोही छैन् । मजस्तो क्यारिकेचर गर्ने कोही छैन जस्तो फिल हुन्थ्यो मलाई । र, आज आएर धेरै वर्षपछि मनमा लागेको कुरा हजुरहरू माझ पोख्न मन लाग्यो । त्यो घमण्डले आज मलाई भित्रभित्र रुवाइरहेको छ । रोइरहेको छु म आफैँमा पनि ।
घरमा बस्दाखेरी के सोँच्छु भने, जिन्दगीमा सबैथोक रमाइलो हो । हामी दर्शकलाई रमाइलो दिने कलाकार हौँ । तर, आज म भित्रभित्रै रोइरहेको हुन्छु ।
हुन त म कार्यक्रमका लागि २८ वटा जति देशमा गइसकेँ । तर, त्यति धेरै देशमा गए पनि अहिले म भित्रैदेखि खुशी छैन ।
अहिले नयाँ नयाँ भाइबैनीहरू, साथीहरू, राम्रो-राम्रो जादुगर, राम्रो-राम्रो डान्सर, राम्रो-राम्रो क्यारिकेचर, कमेडी गर्नेहरू आउनुभएको छ । मलाई फिल त छ, कि म पनि उहाँहरूसँग केही गर्न सकूँ, केही बन्न सकूँ, केही सिक्न सकूँ भन्ने ।
मलाई एकजना मिल्ने साथीले भन्नुहुन्थ्यो कि, ‘महादेव, जिन्दगीमा अगाडि बढ्नु छ भने घमण्ड नगर्नू । आफ्नो लेभल बनाउनु । आफ्नो लेभल बनाएपछि मात्रै सबैले चिन्नुहुन्छ, मान्नुहुन्छ, गन्नुहुन्छ ।’
आज मलाई उहाँले भनेको त्यो कुरा फिल भएको छ । म सम्पूर्ण मेरा दर्शकवृन्द, मेरा आफन्त, मेरा साथीभाइहरूलाई रिक्वेस्ट गर्न चाहान्छु, जिन्दगीमा लैजानु केही पनि छैन रहेछ । आउँदा हातको मुठी बटारेर आएका हुन्छौँ, जाँदाखेरी मुठी खोलेर जान्छौँ ।
सोहीकारण नेपालका चर्चित कलाकार (गायक–गायिका, नायक–नायिका), दर्शकवृन्द, आफन्त, साथीभाइलाई आग्रह गर्न चाहान्छु घमण्ड भन्ने चिजलाई टाढा राख्नुपर्ने रहेछ ।
त्यही घमण्डले आज म भित्रभित्र रोइरहेको छु । र, अब नयाँ कामहरू गर्ने कोसिस गरिरहेको छु । सबैसँग घुलमिल हुने कोसिस गरिरहेको छु ।
अन्तिममा पनि म सबैलाई आग्रह गर्न चाहान्छु कि, घमण्ड भन्ने चिजलाई टाढा राखिदिनु होला । किनभने घमण्डले मानिसलाई पिरोल्छ । आज एकदिन कमाए पनि घमण्डले पछिसम्म पिरोलिरहन्छ सोही कारण घमण्ड भन्ने चिजलाई टाढा राखिदिनु होला । जय नेपाली ।