१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कांग्रेस बैठकबाट चुनावी तालमेलको लाइन पास, एमालेलाई प्रेसर !

कांग्रेस बैठकबाट चुनावी तालमेलको लाइन पास, एमालेलाई प्रेसर !

नेपाली काँग्रेसको एक साता लामो चलेको केन्द्रीय समिति बैठकले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी गठबन्धन गरेर जाने लाइन पास गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा जस्तै सत्ता गठबन्धनभित्र रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो । त्यसका लागि काँग्रेसले गठबन्धनमा रहेका दलहरुसँग छलफल गर्ने भएको छ ।

 ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमत तर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ, ‘यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण  र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।’
तालमेल गर्दा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसंग संवाद मार्फत निष्कर्षमा पुगिने प्रवक्ता प्रकाशशरण महतको भनाइ छ । 

नेपाली कांग्रेसले जस्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनको पक्षमा पार्टी कमिटीबाट निर्णय गरिसकेका छन् । यस्तै हाल आन्तरिक समस्यामा रहेका उपेन्द्र यादव नेतृत्वको जसपा पनि गठबन्धनमै आवद्ध रहेको छ । यही पाँचदलीय गठबन्धनले गत स्थानीय तह निर्वाचनमा कतिपय पालिकामा दुई पक्षीय तथा बहुपक्षीय तालमेल गरेका थिए । तालमेल गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई धक्का लागेको थियो । तालमेलकै कारण एमालेको पहिलो दलको ताज खोसिएको थियो भने यही गठबन्धन प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्मै जाने सम्भावना बलियो बन्दै जाँदा एमालेलाई प्रेसर थपिएको छ । गठबन्धनसम्बन्धी सही समाचारसहित ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ, लोकान्तर राउण्ड अपमा हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित हुने गछौँ–
००००
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल अर्को निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन् । प्रतिनिधिसभाको कार्यकालका सन्दर्भमा विवाद देखिएका बेला उनले मनोनयनको दिनसम्म वर्तमान प्रतिनिधिसभाको कार्यकाल रहने विचार व्यक्त गरेका हुन् । 
सोमवार सिंहदरबारमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सभामुख सापकोटाले वर्तमान प्रतिनिधिसभाको कार्यकाल आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने प्रष्ट पारेका हुन् । आफूले आइतवार प्रतिनिधिसभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुखसँग छलफल गरेको जानकारी दिएका छन् ।
००००
न्याय परिषद्ले थप दुईजना न्यायाधीशहरूलाई बर्खास्त गर्न सिफारिश गरेको छ ।
न्याय परिषद् सचिवालयको सोमवार बसेको बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्तगीका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।
००००
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गत वर्ष असारमा ६८ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
००००
नेपाली कांग्रेसले केन्द्रीय सदस्य आनन्द ढुंगानाको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले ढुंगानालाई अनुशासन आयोगको संयोजक नियुक्त गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।  यस्तै, श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरिएको छ । समितिका सदस्य सभापतिले तोक्ने प्रवक्ता महतले बताए ।
००००
वडाध्यक्षलाई घोक्र्याउँदै पौडी पोखरीमा हुत्याउने इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई कारबाही गर्न चौतर्फी माग गरिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई डीएसपी केसीले नगरसभा भइरहेको मणिग्रामस्थित एक होटलको ‘स्वीमङपुल’ आइतवार धकेलिदिएका थिए ।
००००
काठमाडौं उपत्यकास्थित विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत परिचालन गरेर हनि ट्रयापमा पार्ने व्यक्तिहरू पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ जनालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । महिला र पुरुषको फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई प्रत्यक्ष भेटघाट गरेर झूटा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाबमूलक ढंगले डरधम्की तथा त्रास देखाई मोलमोलाई गरेर ‘ब्ल्याक मेलिङ’ गरी रकम असूल गरेको उजुरीका आधारमा प्रहरीले छानबिन गरिरहेको छ ।
००००
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि बढाउने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।
००००
कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते१०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण बढेर ४५७ पुगेको हो ।
००००
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्डभित्रका संरचना हटाउन लागेको बताएको हो ।
००००
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ । चालू आवको पहिलो दिनै सार्वजनिक गरेको यस मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाले साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने छ ।
मार्गदर्शन अनुसार तयारीका चरणहरू पूरा गरेका आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, डिजाइन र लागत अनुमान तयार गरेर साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ ।
००००
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन् । आइजिपी नियुक्तिको विषयलाई लिएर असन्तुष्ट रहेको पोखरेलले सोमवार राजीनामा दिएका हुन् । सर्वोच्चमा मुद्दा हारेपछि उनले नेपाल प्रहरीको मानव स्रोत विभागमा आफै उपस्थित भएर राजीनामा पत्र बुझाएका थिए ।
००००
शेयर बजार मापक सूचक नेप्से १८.३ अंकले बढेको छ । सोमवार शेयर बजार ०.९० अंकले बढेर २०२९.४३ अंक कामय गरेको छ । बजार बढेको लाभ सबैभन्दा बढी लिनेमा बरुण हाइड्रो पावर र इमर्जिङ नेपालका लगानीकर्ताले लिएका छन् । सोमवार बरुणको ९.९८ र इमर्जिङको ९.६२ अंकले शेयर मूल्य बढेको छ । सोमवार सबैभन्दा बढी गुमाउनेमा भने अधिकांश ऋणपत्र रहेका छन् । 
००००
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच मुद्दाको सन्दर्भमा भएको घुस डिल प्रकरणको पनि छानबिन अन्तिम चरणमा पुगेको छ । अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस डिलको फोन संवाद सञ्चारमाध्यममा सार्वजनिक भएपछि तत्काल उनलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो ।
००००
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि ३४ जनाको नाम सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले ३४ जना प्रहरी निरीक्षकलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्