०९ साउन २०८३, शनिबार

रूपन्देहीमा चल्न थाले विद्युतीय सार्वजनिक गाडी

साउन ३, २०७९
रूपन्देहीमा चल्न थाले विद्युतीय सार्वजनिक गाडी

रूपन्देहीमा विद्युतीय सार्वजनिक गाडी सञ्चालनमा आएका छन् । काठमाडौं उपत्यका बाहिर सुन्दर यातायात प्रालिले स्थानीय रूटमा सञ्चालन गर्ने गरी ‘पब्लिक इलेक्ट्रिक भेइकल’ बुटवलमा भित्र्याएको हो । प्रालिका सञ्चालक डीआर घिमिरेले तत्कालको लागि बुटवल–भैरहवा रूटमा दुई वटा वातावरण अनुकुलित (एसी बस) सञ्चालनमा आएको जानकारी दिएका छन् ।

छिट्टै बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको जीतपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म पनि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको घिमिरेले बताए । लुम्बिनी प्रदेश सरकारले पनि विद्युतीय गाडी सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्दै आएको छ । यद्यपि, प्रदेश सरकारले हालसम्म विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन सकेको छैन ।  

विद्युतीय सवारी सञ्चालनमा ल्याएको कम्पनीले चार्जिङमा समस्या भएको गुनासो गरेको छ । ‘सानो मेशिनले बस चार्ज गर्न समस्या भएकाले नियमित बस सञ्चालन गर्न केही समस्या भएको हो । कालिकानगरमा चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब बसले नियमित सेवा दिन्छन्’ सञ्चालक घिमिरेले भने । विद्युतीय वातावरण अनुकुलित गाडी तराईको गर्मीमा यात्रुको रोजाइँमा पर्ने विश्वास गरिएको छ । 

सुन्दर यातायात प्रालि बुटवलका इन्चार्ज प्रदीप पौडेलले बुटवलमा सञ्चालन भइरहेका विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको बताएका छन् ।

‘अहिले सञ्चालनमा रहेका बस ३० सिट क्षमताका छन् । यी बसहरु एकपटक पूरै चार्ज गर्न करिब २ घण्टा लाग्छ’ उनले भने । एकपटक पूरै चार्ज भएको बस २००  किलोमिटर गुड्न सक्ने पौडेलले जानकारी दिए । ‘बस चार्ज गर्न २०० केभीको ट्रान्सफर्मर आवश्यक पर्छ । त्यसका लागि विद्युत् प्राधिकरणमा प्रालिले माग गरेको छ । अहिले सानो मेशिनले गाडी चार्ज गर्दा धेरै समय लाग्ने गरेको छ ।  

आगामी दिनमा वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको उनले बताए । प्रालिका अध्यक्ष भेषबहादुर थापाले तत्कालका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही क्षेत्रमा बस सञ्चलन आउने र दोस्रो चरणमा बाँकेको नेपालगञ्जलगायत अन्य जिल्लामा पनि बस सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्