०३ असार २०८३, बुधबार

भारतमा बादल फाट्ने घटना, चीनमाथि दोष !

साउन ३, २०७९
भारतमा बादल फाट्ने घटना, चीनमाथि दोष !

भारतको तेलंगाना राज्यका मुख्यमन्त्री चन्द्रशेखर रावले देशमा बादल फाट्ने (क्लाउड बर्स्ट) घटनामा विदेशी षड्यन्त्रको आरोप लगाएका छन् । 

एघार दिनअघि जम्मु कश्मीरमा रहेको पवित्र अमरनाथ गुफामा बादल फाट्दा आएको बाढीमा बगेर १६ जनाको मृत्यु भएको थियो । चालीसजना अझै बेपत्ता छन् । 

अविरल वर्षाका कारण तेलंगानाको गोदावरी क्षेत्रमा बाढी आएको छ । मुख्यमन्त्री राव आइतवार बाढीग्रस्त क्षेत्र भद्राचलमको भ्रमणमा गएका थिए । बादल फाटेका कारण अविरल वर्षा भएको र बाढी आएको बताउँदै उनले यसमा विदेशी षड्यन्त्रको आशंका गरेका हुन् । लेह लद्दाखमा पनि विदेशीहरूले यस्तो षड्यन्त्र गरिसकेको उनको भनाइ छ । 

सानो क्षेत्रमा कम समयका लागि घनघोर वर्षा हुनुलाई नै बादल फाटेको भनिन्छ । 

यस्तो वर्षा निकै चर्को हुन्छ । मानौं टन्न पानी भरिएको प्लास्टिक आकाशमा फुटेको आभास पाइन्छ । 

अचानक २० देखि ३० वर्ग किलोमिटर क्षेत्रमा एक घन्टा वा त्यसभन्दा कम समयमा एक सय मिलिमिटर वा त्यसभन्दा बढी वर्षा भएमा बादल फाटेको भनिन्छ । 

सन् १९७० देखि २०१६ सम्म भारतमा बादल फाटेका ३० भन्दा बढी घटना भएका छन् । ती घटना हिमालय क्षेत्रमा भए । बादल फाटेपछि भएको घनघोर वर्षाका कारण बाढी पनि आएका छन् । 

सन् २०१३ मा उत्तराखण्डमा बादल फाट्दा आएको बाढीका कारण केदारनाथमा धेरै क्षति पुगेको थियो । घटनामा ५ हजारभन्दा बढी मानिसको मृत्यु भयो । 

बादल फाट्ने घटना भारत चीन सीमा नजिक बढी हुने गरेकाले यसमा चीनको कुनै षड्यन्त्र त छैन भनी आशंका व्यक्त गरिएको हो । तेलंगानाका मुख्यमन्त्रीले पनि त्यसैतर्फ संकेत गरेका हुन सक्छन् । 

चीन सहित ६० वटा देशले कृत्रिम वर्षा गराउने प्रविधि विकसित गरिसकेका छन् । क्लाउड सीडिङ वा वेदर कन्ट्रोल टेक्नोलोजीमार्फत चीनले कैयौंपटक कृत्रिम वर्षा गराएकाले भारतीयहरूले चीनतर्फ औंला उठाएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्