
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर ३ सुझाव दिएका छन् ।
मंगलवार मन्त्री चौधरीलाई भेटेर थापाले आफूले उठाउँदै आएका विषयमा छलफल गरेका छन् ।
काठमाडौं उपत्यकाभित्रका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि फूटपाथ निर्माण, विस्तार, पुनः स्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्नुपर्ने र काठमाडौं उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना सञ्चालन गर्न थापाले सुझाव दिएका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐन संशोधन गरेर, यसको सञ्चालक समितिमा काठमाडौं उपत्यकाका सम्पूर्ण महानगर–नगरपालिकाका प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ ।
थापाले ट्विटरमा लेखेका छन्, ‘यो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढल जस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने ।’
बुढानीलकण्ठ नगरपालिकाको १०, ११, १२ नम्बर वडा र कामनपाको ६ र ७ नम्बर वडाको केही भाग निरन्तर डुबानमा परिरहने समस्याको दीर्घकालीन समाधान खोज्न छुट्टै परियोजना बनाउने, अहिले गरिरहेका कामहरूलाई पनि सोही दीर्घकालीन योजनासँग जोड्ने र यो वर्ष महत्त्वपूर्ण काम सक्ने सुझाव थापाले दिएका छन् ।
उनले अगाडि लेखेका छन्, ‘मन्त्रीज्यूले यी सुझावलाई सकारात्मक रूपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’