
आउँदो महिना फिल्म रिलिजका हिसाबले सर्वाधिक ब्यस्त हुने देखिएको छ ।
भदौमा हरेक शुक्रबार दुई वा दुईभन्दा बढी नेपाली फिल्मबीच भिडन्त हुँदैछ ।
११ वटा नेपाली फिल्मले भदौ महिनाका लागि प्रदर्शन मिति तोकिसकेका छन् ।
वर्ष २०७९ को साउनसम्म नदेखिएको फिल्म रिलिजको प्रतिस्पर्धा भदौमा देखिने भएको हो ।
एकै महिनामा यति धेरै फिल्म प्रदर्शन हुने भदौ कोरोना महामारीपछिकै पहिलो महिना हुने देखिएको छ ।
दर्शक र फिल्मकर्मीले प्रतिक्षा र आशा गरेका केही फिल्महरु भदौमा छन् ।
भदौको पहिलो शुक्रबार हलमा एकसाथ ३ वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसपछिका हरेक शुक्रबारका लागि दुई–दुई वटा नेपाली फिल्मले प्रदर्शन तोकेका छन् ।
भदौ ३ गते ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ रिलिज हुनेछन् ।
भदौ १० गते ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आउँदैछन् ।
भदौ १७ गते ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउनेछन् भने भदौ २४ गते ‘गोर्खाः बिनिथ द ब्रेभरी’ र ‘ऐना झ्यालको पुलती’ले प्रदर्शन मिति तोकेका छन् ।
भदौको अन्तिम शुक्रवार भने ‘लाखे’ र ‘बाबरी’ फिल्मबीच प्रतिस्पर्धा हुनेछ ।
व्यापारका हिसावले भदौ, असोज र कात्तिक महिनालाई राम्रो मानिँदै आएको छ ।
त्यसैले यी महिना फिल्म रिलिज गर्न निर्माताबीच तछाडमछाड हुने गरेको छ ।
तर, आशा गरिएका फिल्महरु एकै मितिमा रिलिज हुँदा दर्शकहरु बाँडिन्छन् ।
त्यसले एकअर्को फिल्मको व्यापारलाई असर पक्कै गर्छ ।
अब, कुन फिल्मको व्यापार कस्तो हुने हो ? त्यसका लागि त भदौं कुर्नुको विकल्प छैन् ।