
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको राष्ट्रियता दिनप्रतिदिन जोखिममा पर्दै गएको बताएको छ । बिहीवारदेखि शुरू भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ, विदेशी प्रभाव र चलखेल दिनानुदिन बढ्दो छ ।’ लिङदेनले प्रमुख राजनीतिक दलहरू विदेशी सामु लम्पार परेकाले विदेशी हस्तक्षेप बढेको बताएका छन् ।
‘विदेशीहरू सामुन्ने प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेलमैदान बनेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘असन्तुलित परराष्ट्र नीतिले देशको अखण्डता र स्वतन्त्रताको संरक्षण गर्नुको सट्टा असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । समष्टिमा अस्थिरताको वातावरण सिर्जना गर्दै राष्ट्रिय अखण्डता र अस्तित्वलाई कमजोर बनाएको छ ।’
राजनीतिक नेतृत्वको अल्पदृष्टि र असफलताका प्रतिफल भूराजनीतिक सन्तुलन गुमेको राप्रपाको आरोप छ । नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिष्पर्धा गर्ने थलो बनेको उल्लेख गर्दै अध्यक्ष लिङदेनले भनेका छन् ‘यस्तो दुर्भाग्यपूर्ण परिस्थितिमा नेपालमाथि अर्को संकट आइलाग्न सक्ने खतरा बढ्दो छ ।’
राप्रपाले मुलुकको सार्वभौमसत्ता र राष्ट्रियता जोखिममा पर्दा पनि सत्तासिन दलहरू कुर्सी मोहका कारण ‘कानमा तेल हालेर बसेको’ उल्लेख गरेको छ ।