
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तहको निर्वाचनले पार्टी पंक्तिलाई उत्साहित तुल्याएको बताएका छन् । दुई–दुईवटा दलीय गठबन्धनका बाबजुद स्थानीय तह निर्वाचनमा एक्लै सहभागी हुँदा प्राप्त तुलनात्मक सफलताले पार्टी पंक्तिलाई उत्साहित तुल्याएको उनको भनाइ छ ।
राप्रपाको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा अध्यक्ष लिङदेनले भने, ‘अपेक्षित नतिजा हात नलागे पनि निर्वाचनको क्रममा पार्टीका नेता कार्यकर्ताहरू परिचालित हुने, उम्मेद्वार बन्ने, विजयी हुने र मतदातासँग हातेमालो गर्ने क्रमले पार्टी संरचनामा सकरात्मक प्रभाव सञ्चार भएको छ ।’
पार्टीले लोकप्रिय जनमतमा उल्लेख्य सुधार गरेको उल्लेख गर्दै अध्यक्ष लिङदेनले चार÷चार जना पालिका अध्यक्ष र उपाध्यक्षसहित पार्टीबाट ३०७ जना प्रतिनिधि निर्वाचित भएको जानकारी दिए ।
अध्यक्ष लिङदेनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्ने उद्घोष गरेका छन् । उनले बैठकबाट केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरी १५ दिन भित्र विस्तृत कार्ययोजना तयार गर्ने प्रस्ताव गरेका छन् । उनले जिल्ला निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव पनि गरेका छन् ।