०५ असार २०८३, शुक्रबार

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहीवारदेखि अवरुद्ध भएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै शुक्रवार बिहानदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो ।

नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयको स्काभेटरले सडकमा आएको पहिरो हटाएसँगै पूर्णरुपमा सवारी साधन सञ्चालन भइरहेको छ । 

पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ । हल्का वर्षा हुनासाथ लेदो आएर सडक अवरुद्ध हुने गरेको छ । 

साउन २ गतेयता अविरल वर्षाले पहिरो जाँदा राति बन्द गरिने र बिहान खुलाएर सडक सञ्चालन गर्ने गर्दै आइएको छ । काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रु उक्त पहिराले नै हैरान भएका थिए । 

डुम्रे–बेँसीसहर ४२ किलोमिटर दूरी रहेको यस सडक हुँदै मनाङवासी बेँसीसहर र बेँसीसहरबाट यस सडक हुँदै विभिन्न सहरमा पुग्ने गर्दछन् । उक्त पहिराले लमजुङ र मनाङबासीलाई बढी समस्या हुनाका साथै बिरामी बोकेका आकस्मिक एम्बुलेन्सलाई समेत समस्या हुने गरेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्