
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये ८ वटा भदौको पहिलो हप्तादेखि सञ्चालनमा आउने भएका छन् ।
शीतभण्डारमध्ये २ महिनादेखि एउटा सञ्चालन भइसकेको र ८ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मशिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो हप्तामा नै सञ्चालनमा ल्याइने बताइएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. सरोज पाण्डेका अनुसार सरकारले ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण शुरू भएको र अब नुवाकोटका २ बाहेक अन्य सबैमा मशिन जडान भइरहेको छ । सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको उनले जनाए ।
मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत ६५ करोड ४८ लाख ६० हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी समेत दिइसकेको सचिव पाण्डेको भनाइ रहेको छ । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसंखुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, शीतभण्डारको भौतिक निर्माण करीब अन्तिम क्षणमा पुगेको जनाउँदै सचिव पाण्डेले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत मात्र काम भएकाले शीतभण्डार भने ६ महिनाभित्र सञ्चालन गरिने बताए ।
प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ सालमा नै हस्तान्तरण हुनुपर्ने थियो ।
मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा ५ हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विदुरमा कूल १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो तर कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन २ वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेले प्रस्ट्याए ।
२ वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै उनले अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने बताए । मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ चैत १३ गते शीतभण्डार निर्माण सम्झौता गरेर काम शुरू गरेकोमा हालसम्म करीब ९५ प्रतिशत सम्पन्न भएको छ ।
१ हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि १२ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म ११ करोड ५२ लाख भुक्तानी भइसकेको छ । बेनीघाट रोराङमा १ हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ ।
मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार लागतमा सम्झौता गरेकामा हालसम्म १० करोड ९८ लाख ६४ हजार भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।
सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्न ५ करोड ३५ लाख ४९ हजार लागतमा ठेक्का सम्झौता भएको हो । शीतभण्डारको ९४ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ ।
रामेछापको मन्थलीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल ५ करोड ३० लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण कार्य ९६ प्रतिशत सम्पन्न भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल ५ करोड ३५ लाख लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य शुरू भएको थियो ।
हालसम्म ९५ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ ।
दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा ५ करोड ३७ लाख लागतमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण शुरू भए पनि हालसम्म ९४ प्रतिशत काम सकिएको बताइएको छ ।
रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डारमा अन्तिम कार्य भइरहेको बताइएको छ ।
केही शीतभण्डारमा मशिन समेत जडान भएर बत्तीको मिटर मात्र जडान बाँकी भएको मन्त्रालयले जनाएको छ । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेका १० वटै शीतभण्डारमध्ये अब नुवाकोटका २ वटाको मात्र करीब ३५ प्रतिशत काम बाँकी रहेको मन्त्रालयले जनाएको छ । कोरोना महामारीका बाबजुत पनि काम सकेर सञ्चालनमा ल्याउने तयारीमा रहेका शीतभण्डार मन्त्रालयको सफलता भएको जनाइएको छ । – अञ्जली थापा/रासस