
नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ ।
तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छ÷छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा ।
मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला ? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ । अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने संविधानसहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो ।
अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपद्मा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए । उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलोपटक भित्रिएको दाबी पनि गरे ।
यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ । सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो ।
मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पाेरेशनको पैसा परेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरे ।