१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

नागरिकता विधेयक पारित हुँदा प्रचण्ड उत्साहित, नारायणकाजी निराश !

नागरिकता विधेयक पारित हुँदा प्रचण्ड उत्साहित, नारायणकाजी निराश !

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कतिपय प्रावधानमा असन्तुष्ट देखिएको छ ।  यस्तै जनस्तरबाट पनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । 
यहीबीच विधेयक पारित हुँदा सत्तारुढ दल माओवादी केन्द्रभित्र दुई धार देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि मधेशका करीब सात लाख नागरिकले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । 

शनिबार सर्लाही जाने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकता विधेयक पारित भएर मधेशका करिब ७ लाख नागरिकले नागरिकता पाउने पक्का भएपछि जनकपुर आएको दाबी गरेका छन् ।
तर, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने विधेयक पारित भएकामा असन्तुष्टि पोखेका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकमा असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरूमा सम्झौता हुन नसक्ने बताएका हुन् । 

शनिवार श्रेष्ठले आफ्नो फेसबुक एकाउण्टमा आफ्नो अभिमत प्रस्तुत गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै ध्यान पुगोस् । हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरूमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’
संसदको राज्य व्यवस्था समितिले नागारिकता विधेयकको बारेमा दुई वर्ष लगाएर निकालेको निष्कर्षलाई लत्याएर सरकारले अल्पमत हाबी हुने गरी नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतको आधारमा पारित गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
००००
यसैगरी नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी पारित विधेयक देशको हितमा नभएको बताएका छन् । नेपाली नागरिक सरह बिहे गरेर आउने वित्तिकै विदेशीलाई नागरिकता दिनु गलत हुने उनको भनाइ छ । वैवाहिक अंगीकृतलाई कुनै ‘सटेन’ अवधि नराखी तत्काल नागरिकता दिने गरी शुक्रवार संसदबाट रहस्यपूर्ण ढंगले विधेयक पारित भएको भन्दै यसले देशलाई ठूलो अप्ठ्यारोमा पार्ने उनले बताए । 
प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले भने, ‘रहस्यपूर्ण ढंगले विधेयक पारित गरिएको छ, विदेशी नागरिकलाई बिहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने पारित भएको विधेयक हाम्रो जस्तो देशका लागि घातक छ ।’
००००
नेकपा एमालेका नेता भीम रावलले रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्न आह्वान गरेका छन् । शुक्रवार प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएपछि शनिवार ट्विटरमा लेख्दै नेता रावलले देशहितमा आँच पुर्याउने काम रातारात भएको स्मरण गरे ।
००००
नागरिकता विधेयक पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए । सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन निष्पक्ष चुनावी सरकार बनाउन माग गरेको छ । गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलले राज्यको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै राप्रपाले आगामी निर्वाचनका लागि निष्पक्ष चुनावी सरकार गठनको प्रस्ताव अघि सारेको हो । 
साउन ५ देखि ७ गतेसम्म काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समिति बैठकले हिन्दू राज्य स्थापनाको मागसहित साउन महिनाभर उपत्यका केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार जनजिवीकाको सवाल, राष्ट्रियता र प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका विषयमा आन्दोलन गर्ने निर्णय बैठकले गरेको हो ।
००००
पछिल्लो २४ घण्टामा ३ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९९६ नमूना परीक्षण गर्दा ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार १ हजार ८८ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १६ जनामा १ हजार ९ सय ८ एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिले एमालेलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको आरोप लगाएका छन् । 

शनिवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरू भएको नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेपछि मन्तव्य राख्दै नेपाली राजनीतिका देशीविदेशी शक्ति हावी भएको दाबी गरेका हुन् ।
००००
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले आगामी निर्वाचनलाई लक्षित गरेर पार्टीको संगठन विस्तारको काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।
००००
नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् । 
सुर्खेतमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निरन्तरता एमाले भएको दाबी गरे । ‘चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो’, उनले भने, ‘आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।’
००००
नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा कांग्रेससँग तालमेल नहुने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।
००००
कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।
००००
भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड(१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ । कनिष्ठ संघीय स्वास्थ्य मन्त्री भारती प्रविण पवारले शुक्रबार भारतीय संसद्को तल्लो सदनमा सम्बोधन गर्दै सो विवरण सार्वजनिक गरेका हुन् ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिए ।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र वान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएका बताए ।  
००००
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८-७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्