
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बदलिँदो विश्व सन्तुलनको कारण नेपाल कतै शीतयुद्धको ‘इपिसेन्टर’ त बन्ने होइन भन्ने खतरा उत्पन्न भएको बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले अमेरिकाको शक्ति खस्किन लागेकाले उसले आफू टिक्ने नीति, उद्देश्य कार्यक्रम बनाएको र चीन शक्तिशाली बनिरहेकोले भू–राजनीतिक अवस्थाका कारण नेपाल शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा औल्याएका हुन् ।
‘कतै नेपाल शीतयुद्धको इपिसेन्टर त बन्ने होइन भन्ने खतरा उत्पन्न भएको छ’, श्रेष्ठले भने ।
विश्वमा अहिले राजनीति तनाव बढाउने मुख्य तीन विषय रहेको उनले बताए । अमेरिका र चीनको शक्तिको लडाइँ, विश्वमा चलिरहेको साम्राज्यवादविरुद्धको आन्दोलन र विश्व पुँजीवाद र भूमण्डकीकृत पुँजीवादविरुद्ध विस्तारै अघि बढेको समाजवादी आन्दोलनका कारण विश्वमा राजनीतिक तनाव बढिरहेको उनले बताए ।
साम्राज्यवादविरुद्धको आन्दोलन त्यति शसक्त नभएको उनले बताए ।
‘विश्व पुँजीवाद र भूमण्डकीकृत पुँजीवादविरुद्ध विस्तारै अघि बढेको समाजवादी आन्दोलन अघि बढ्न प्रयत्न गरिरहेको छ तर, यो त्यति बलशाली छैन’, श्रेष्ठले भने ।
नेपाल भू–रणनीतिक कारणले फाइदा र जोखिम दुवैमा रहेको उनले बताए ।
नेपालले फाइदालाई हेरेर त्यसअनुसारको नीति अख्तियार गर्नुपर्ने धारणा श्रेष्ठले व्यक्त गरेका छन् ।