
नयाँ आर्थिक वर्ष लागेसँगै बैैंकिङ प्रणालीमा तरलताको अभाव झन् बढ्ने देखिएको छ । चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो साता (६ साउनसम्म)मा बैंकिङ प्रणालीमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको छ ।
बैंकर्स संघ नेपालले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा असार मसान्तको तुलनामा ६ साउनसम्ममा निक्षेप घटेको देखिएको छ ।
यो अवधिमा बैैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्बबाट घटेर ४४ खर्ब ७८ अर्बमा झरेको छ । यो अवधिमा बैंकिङ प्रणालीबाट कर्जा प्रवाह भने १० अर्ब रुपैयाँले घटेको छ । ४१ खर्ब ७५ अर्ब पुगेको कर्जा लगानी साउन पहिलो साता घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।
बैैंकहरूले मौद्रिक नीति पर्खिएर लगानी विस्तार नगरेको समयमा १० अर्ब रुपैयाँ बजारबाट उठेका कारण कर्जा लगानी घटेको देखिएको हो । यो अवधिमा बैंकहरूमा निक्षेप संकलन पनि घटेका कारण बैंकहरूमा तरलता अभाव कायमै रहेको तथ्यांकले देखाएको छ ।