
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।
जसका कारण मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
यस्तै दिउँसो पनि केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै महाशाखाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।