३० जेठ २०८३, शनिबार

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्धेश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन शुरू गरेको थियो । तर, अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।

तत्कालीन समयमा अस्पताल निर्माण शुरू गर्दा पुर्‍याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेटमा रु ५० लाख बजेट विनियोजन गरी सर्वशान्ति क्याम्पसको पछाडिपट्टि सार्वजनिक जग्गामा अस्पताल निर्माण शुरू गरेको थियो । उक्त समयमा बोलपत्र प्रक्रिया गरी भवन निर्माणको काम शुरू गरेका थिए । उतिबेलै भवनको जग राख्ने कामसमेत सकिएको थियो । तर, बीचमा जग्गाको स्वामित्वका विषयमा टुंगो लाग्न नसकेपछि हालसम्म पनि भवन निर्माणले पूर्णता पाउन सकेको हो ।

गाउँपालिकाले सार्वजनिक जग्गा भनेर निर्माण शुरु गरेको उक्त जग्गा वन कार्यालयले वन क्षेत्रभित्रको जग्गा जनाउँदै अस्पताल निर्माण रोकिदिएपछि अलपत्र परेको हो । करिब रु १० करोड लागत लाग्ने अनुमानका साथ भवन निर्माण शुरू गरिएको थियो । 

तत्कालीन गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिका भित्रको जग्गा गाउँपालिकाले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सकिने भएकाले आफूहरूले नागरिकको सुविधाका लागि अस्पताल भवन निर्माण थालेको बताए । 

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जग्गाको स्वामित्व अस्पतालका नाममा ल्याउने प्रयास जारी रहेको बताए । 
यही आर्थिक वर्षभित्रमा अस्थायी भवन निर्माण गरी १५ शय्याको इच्छाकामना अस्पतालको सेवा भने शुरू गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि अस्थायी संरचना निर्माण गरी इच्छाकामना अस्पतालको सेवा सुरु गरिनेछ भने रोकिएको भवन निर्माणको कामसमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा गरी शुरू गर्नेछौँ ।’ –रासस
 

salt training

कमेन्ट गर्नुहोस्