
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इण्डो प्यासेफिक स्टाटेजी (आईपीएस)को सम्मेलनमा सहभागी हुन अष्ट्रेलिया गएको भन्दै सत्तापक्षका सांसदहरूले विरोध जनाएका छन् ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) पारित गर्दा आईपीएसमा सहभागी नहुने भनेर निर्णय गरे पनि अहिले सरकारले आईपीएसको सम्मेलनमा सहभागी गराउन प्रधानसेनापतिलाई पठाएको भन्दै माओवादी सांसदहरूले सरकारको जवाफ माग गरेका हुन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी सांसद अञ्जना विशंखे र अमृता थापाले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे सरकारको जवाफ माग गरेकी हुन् ।
‘एमसीसी पारित गराउँदा आईपीएसको अंग होइन भनेर भनिएको थियो । यो निर्णयलाई लत्याएर आईपीएसको सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो ?’ विशंखले प्रश्न गरिन् ।
सांसद अमृता थापाले भर्खरै एसपीपीमा सहभागी नहुने भनेर निर्णय गरे पनि आईपीएसको सम्मेलनमा प्रधानसेनापतिलाई पठाएको भन्दै आपत्ति जनाइन् । ‘अष्ट्रेलियाको मेलवर्नमा साउन ९ देखि ११ सम्म सम्पन्न हुने सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो । रुस, चीन र उत्तर कोरियाविरुद्ध अमेरिकी रणनीति आईपीएसमा सहभागी हुने निर्णय सच्चाइयोस्’ थापाले भनिन् ।
प्रधानसेनापति शर्मा गएको शनिवार अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इन्डो प्यासाफिक कमाण्डले सिड्नीमा आयोजना गरेका चिफ अफ डिफेन्स कन्फरेन्स २०२२ मा सहभागी हुन अष्ट्रेलियाको भ्रमणमा निस्किएका थिए । उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको सहभागिता छ ।