१३ असार २०८३, शनिबार

चक्रवर्ती ल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप, चारजना घाइते

चक्रवर्ती ल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप, चारजना घाइते

काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कलेजले गरेको शिक्षण शुल्क वृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबीच मंगलवार बिहान झडप भएको हो । त्यसक्रममा चारजना विद्यार्थी घाइते भएका छन् । 

झडपका क्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरू मनमोहन भट, अभिनव सिंह राठोर, सफल केसी र दिर्घ रोकाया घाइते भएका छन् । उनीहरूको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । 

उक्त कलेजले शैक्षिक सत्र २०७९/८० को भर्ना शुल्कमा वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । कलेजले गतवर्ष ७ लाख १६ हजार रुपैयाँ रहेको बीएएलएलबीको शुल्क एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित विद्यार्थीहरूले आइतवार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । 

सोमवार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच भएको वार्तामा कलेजले ५० हजार शुल्क घटाउने बताएको थियो । तर, विद्यार्थीहरूले पुरानै शुल्क कायम गरिनुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको थियो । 

कलेज प्रशासनसँगको वार्ता सफल नभएपछि विद्यार्थीहरूले मंगलवार लेखा शाखामा तालाबन्दी गरेका थिए । तर, उक्त ताला कलेज प्रशासनले फुटाएपछि स्थिति तनावपूर्ण बनेको थियो । विद्यार्थीहरूले क्याम्पसमा तोडफोडसमेत गरेपछि हस्तक्षेप गरिएको प्रहरीले बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्