
मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रूपमा कटान गरेको आरोपमा ७ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया शुरू गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका ७ जनालाई पक्राउ गरिएको हो ।
वडाको निमार्णाधीन भ्यूटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारी सहितलाई पक्राउ गरेको जनाइएको छ ।
आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरूलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनले पक्राउ परेका ७ मध्ये २ जना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको रहोवरमा छाडिएको बताए । घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको परिचय खुलाउन आरक्षले नमानेको बताइएको छ ।