
बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ ।
आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।
उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार १०० देखि ४९ हजार ५०० रुपैयाँसम्म कायम गरिएको छ ।
५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा १०० र ५ करोडदेखि माथि भएमा प्रतिहजारको २ रुपैयाँका दरले सम्पत्ति कर तिनुपर्नेछ ।
ई–रिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत ५०० रुपैयाँका दरले १ हजार तिर्दै आएकामा चालू आर्थिक वर्षमा ३०० रुपैयाँका दरले ६०० बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले जानकारी दिए ।
महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ व्यहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्गमा मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ ।
नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिने व्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिए ।