
सरकारले भारतसँग झण्डै ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच साउन १ गते मल खरिदका लागि सम्झौता भएको लिमिटेडका निमित्त कार्यकारी निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए ।
५ वर्षका लागि गरिएको सो सम्झौतापश्चात नेपालले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ ।
गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश कुमार सञ्जेलले अबकाे मल विशेष गरी गहुँ बालीका लागि प्रयोग गरिने बताए ।
उनले धानका लागि अब मल विस्तारै सहज हुने बताएका छन् । उनका अनुसार सम्झौतापश्चातको मल मूल्य चित्त बुझ्दो भएमा गहुँबाली तथा अन्य तरकारीका लागि ल्याइनेछ ।
सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रिसक्ने कार्कीले बताए ।
सम्झौताअनुसार दोस्रो वर्ष (यो आर्थिक वर्ष) ६० हजार डिएपी, एक लाख १० हजार युरिया, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी मल ल्याइने छ ।
यस्तै चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार मेट्रिकटन डिएपी ल्याइने छ । पाँचौ वर्ष १ लाख २० हजार मेट्रिकटन युरिया, ९० हजार डिएपी मल ल्याइने छ ।
पहिलो वर्षको बाँकी एक लाख मेट्रिकटन युरिया र ५० मेट्रिकटन युरिया मल ल्याइने कृषि सामग्री कम्पनीले जनाएको छ ।