प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १६ गते काठमाडौंमा गर्ने प्रदर्शनमा उपत्यकका सबै पार्टी कमिटी परिचालन गर्ने भएको छ । देशमा व्याप्त महँगी र भ्रष्टाचारको विरोधमा गर्न लागिएको प्रदर्शनमा उपत्यकामा रहेका सबै कमिटीलाई परिचालित हुन निर्देशन दिइएको हो ।
बिहीवार बिहान उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई भव्य बनाउने निर्णय गरेको छ । बैठकले प्रदर्शनको तयारी तीव्र पार्न पार्टी र जनसंगठन कमिटीलाई निर्देशन दिएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले जनता मारमा परिरहेको भन्दै सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेकाले प्रदर्शन गर्न लागिएको बताएका छन् । उनले जनप्रदर्शनका लागि राम्रो तयारी गर्न र संगठित शक्तिलाई परिचालन गर्न निर्देशन दिए ।
प्रदर्शनका लागि एमालेले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा परिचालन कमिटी गठन गरेको छ । प्रदर्शन आगामी सोमवार दिउँसो २ बजे वसन्तपुरबाट शुरू हुने एमालेले जनाएको छ ।