राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापा पार्वतीले प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियाको कार्यक्रममा सहभागी भएको सम्बन्धमा सरकारको जवाफ माग गरेकी छन् । सेनापति शर्मा इण्डो प्यासाफिक स्ट्राटेजी अन्तर्गतको कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया गएको भन्दै उनले यस सम्बन्धमा सरकारको जवाफ माग गरेकी हुन् ।
‘अस्ट्रेलियाको मेलबर्न भइरहेको आईपीएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागी भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ?’ उनले प्रश्न गरिन्, ‘एकातिर आईपीएसको कार्यक्रममा सहभागी नहुने सरकारको निर्णय, अर्कातिर सेनापति सहभागी हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु ।’
उनले कोरोना संक्रमण बढिरहेको भन्दै यसको रोकथामका लागि भएको तयारीको सन्दर्भमा पनि सरकारको ध्यानाकर्षण गराइन् । ‘कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण बढिरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कातिर भ्याक्सिन डेट एक्स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भीर हुन म आग्रह गर्न चाहन्छु,’ उनले भनिन् ।