प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका छन् । केही समयता मत्थर हुँदै गएको कोरोना संक्रमण पुनः विस्तार हुँदै जाने खतरा देखिएको भन्दै उनले कोरोनालाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताए ।
वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले भविष्यमा आउन सक्ने विभिन्न महामारी नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए । क्यान्सरजस्ता घातक रोगहरूको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरूले ध्यान दिने उनले विश्वास व्यक्त गरे । उनले भविष्यमा सर्ने भन्दा नसर्ने रोगले भयावहको रूप लिने उनको भनाइ छ । ‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरू छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ’, उनले भने, ‘हामीले पनि नसर्ने रोगका विरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यक्ता छ ।’
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताए । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्थासमेत सरकारले गरेको बताए ।
‘संविधानले स्वास्थ्यको हकलाई मौलिक हक अन्तर्गत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ’, उनले भने, ‘नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन कटिबद्ध । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।’