तनहुँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले एक वर्षको अवधिमा छ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षमा अनुगमनका क्रममा कैफियत देखिएका तनहुँका तीन, गोरखाका दुई र नवलपुरका एक उद्योगविरुद्ध मुद्दा दायर गरिएको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए ।
कार्यालयले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कृष्ण पाउरोटी उद्योग, भीमाद नगरपालिकास्थित अभिषेक बेकरी उद्योग तथा ग्लोबल एग्रो प्रोडक्ट्स, गोरखास्थित क्षितिज पुष्टकारी उद्योग तथा कुँवर एण्ड ब्रदर्श गु्रप र नवलपुरस्थित सरस्वती डेरी उद्योग विरुद्ध सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । तीमध्ये कृष्ण पाउरोटीलाई रु पाँच हजार, अभिषेक बेकरीलाई रु सात हजार ५००, क्षितिज पुष्टकारीलाई रु एक हजार, ग्लोबल एग्रोलाई रु ३० हजार, सरस्वती डेरी उद्योगलाई रु तीन हजार जरिबाना गरिएको थियो ।
कुँवर एण्ड बद्रर्शको मुद्दा निर्णय हुन बाँकी रहेको र अन्य २० वटा मुद्दा भने अनुसन्धानका क्रममा रहेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए । कार्यालयले सोही अवधिमा खाद्य ऐन नियम बमोजिम १९० वटा खाद्यको नमूना संकलन गरेर भैरहवास्थित प्रयोगशालामा परीक्षण गराएको थियो ।
दूध तथा दूग्ध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फलफूल तथा सागपातका २६, मसलाका १४, चिया तथा कफीका १४, नूनका दुई, खाद्यान्न, दलहन र सोसँग सम्बन्धित ४४, प्रशोधित पिउने पानीका १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना संकलन र परीक्षण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले एक वर्षको अवधिमा खाद्य निरीक्षकको नेतृत्वमा १४५ वटा खाद्य तथा दाना बजार अनुगमन गरेको थियो । रासस