साउन १८, २०७९
लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...
१९ औं शताब्दीमा भारतमा जन्मिएका महान दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व श्री चन्द्र मोहन जैन अर्थात ओशोप्रति हार्दिक नमन प्रकट गर्दै आजको स्तम्भ तयार गरेको छु । युट्युवमा ओशोको प्रवचन सुनेर गुम्बाको लामा जस्तै दत्तचित्त भईराखेका बेला टिकटकमा देखिएका नक्कली सन्यासीहरूको फोहोरी हर्कतले अचानक मेरो ध्यान भंग गरिदिएको हुनाले यति लेख्न बाध्य भएको हुँ । ‘मूर्खहरू दोश्रो व्यक्तीमाथी हाँस्छन् तर विद्वानहरू आफैमाथी हाँस्छन्’ भनेर ओशोले भन्नुभए जस्तै यो लेख पढ्दा धेरैलाई हाँसो लाग्न सक्छ ।
‘हजार चुवा खाके बिल्ली चला हज कर्ने’ भने जस्तै रक्सी छोड्न सकिन्छ की भनेर तपोवन भित्र छिरेको एकजना नामुद ठगले हिजोआज साइबाबाको स्टाईलमा टेलिभिजनमा प्रवचन दिईरहेको देखिन्छ । अन्तर्वार्ता लिनेहरू उसको आध्यासत्मिक चेत भन्दा पनि द्रव्य शक्तिमा लोभिएका देखिन्छन् । धेरैको प्रश्न हुन्छ- त्यति धनी मान्छे कसरी योगी बन्न आयो हँ ? उत्तर सजिलो छ- धनी वा गरिब योगी बन्ने हैन , मान्छे योगी बन्ने हो।
माओले भन्नुभएको थियो, ‘पुँजीवादीहरूले भगवानलाई पनि किन्न सक्छन् ।’ खरिद गर्न कुनै भगवान बाँकी नरहेपछी हिजो आज धनाढयहरूले अध्यात्मवादलाई किनिरहेका छन् ।
अंग्रेजीमा भन्नुपर्दा ‘मेडिटेशन विकम्स लक्जिरी’ । अब यो ध्यान, तपस्या, बोधी, सन्यासी हुने, इनलाइटमेन्ट हुने भन्ने कुरा ‘फेसनयवल’ कुरा भयो । यसको गाम्भीर्यता हरायो । कुनै जंगलमा, नदीको किनारमा, हिमालको काखमा ध्यान तपस्या गर्नु भनेको रत्नपार्कमा बदाम बेच्न बसे जस्तै भयो । जब आध्यात्मवादलाई बजारमा राखिएको वस्तुको रूपमा तयार गरिन्छ । घण्टाको हिसाबले त्यसको मूल्य तोकिन्छ, आम मान्छेको पहुँचभन्दा बाहिरको बनाइन्छ । शक्ति र सत्ताको आडमा त्यसको बजारीकरण गरिन्छ भने त्यो आध्यात्मवाद हैन त्यो त ‘इमोशनल ब्लाकमेलिङ’ हो ।
एकजना रातोपीरो अनुहार भएको मान्छेको खुट्टामा तामाको भाँडामा राखिएको गुलाब जल छर्किएर मसाज गरिरहेको भिडियो सामाजिक सञ्जालमा देखियो । आडैमा एकजना नामुद भ्रष्टचारीले थपडी बजाई रहेको रहेछ । ऊ खासै पढेलेखेको मान्छे त थिएन तर, खै के कुरा बुझेर हो निरन्तर थपडी बजाइरहेको थियो । थाइल्याण्डको मसाज दोकानमा जस्तै कैयौ महिला पात्रहरू त्यो रातोपीरो अनुहार गरेको मान्छेको पाउमा झम्टिएर दशधारा आंशु बगाउन लामबद्ध थिए । घरबाट निस्कदा सामान्य रूपमा गएको मान्छेलाई रूने, कराउने स्थितिमा पुराउनेसम्मको ‘ब्रेन वास’ गर्ने ती को हुन् ? तिनको त्यो अद्भुत शक्ति के हो ? दिमागको लिम्बिक सिस्टम (limbic system)लाई असर पारिदिने अनि, अद्भुत क्षमता देखाएको भनिदिने ?
कुनै एउटा कोठामा थुनेर हप्तौसम्म ‘ब्रेन वास’ गर्यो भने मान्छे पनि कुकुर बनेर हिड्न सक्ला । अनि, उसैलाई गुरू भनिदिने ? उनीहरू खराब तरिकाले प्रभाव पार्ने व्यक्ति अर्थात ब्याड इन्फ्लुएन्सर हुन् । मान्छेको अन्तरनिहित न्यूरोलोजिकल अवस्थालाई असर पुर्याएर शरीर कम्पन गराउनु कुनै बोधीसत्व दिलाउनु होइन् । त्यही क्षमताको आधारमा गुरू मान्ने हो भने यो जगतमा सबै गुरू भइदिन्छन् । डक्टरका गुरू हुन्छन्, जसले मुटु चिरेर उपचार गरेर देखाउन सक्छ । रकेट यान चलाउनेका पनि गुरू हुन्छन् । उनीहरूले रकेटमा मान्छे राखेर पृथ्वीको चक्कर लगाई रकेटलाई चन्द्रमाको सतहमा उतार्न सक्छन् । हाम्रो गाउँको जिते दाइ काम गर्न भारत गएका थिए, फर्कदा जादुगर भएर आए । उसको पनि उत्तर प्रदेशमा एकजना गुरू नै थिए रे । संसारभरी अनेकथरी गुरू छन् । तर, रूँदै कराउँदै केही समयको विश्राममा कसैको चरणमा मालिस गरिदिनु पर्ने गुरू संसारमा कतै देखिएको थिएन । अध्यात्मको गुरूले अन्तरमनको कुरा गर्छन्, बाह्य संसारमा हुने गरेका दैनिकी भन्दा पृथक विषयको चर्चा गर्छन भन्ने सुनिन्छ ।
पंक्तिकारलाई धर्म र अध्यात्मको बारेमा त्यति धेरै जानकारी छैन । त्यो रूचीको विषय पनि होइन । यत्ति मात्र थाहा छ की, मानव सभ्यता र विकास कैयौ संघर्षको अवस्था पार गरेर यहाँसम्म आइपुगेको हो । कसैले ध्यान गरेर बसेका कारण, बोधी सत्य प्राप्त गरेका कारण, आशिर्वाद दिएका कारण वा टुनामुना र जादु मन्त्र गरेका कारण, पूनर्जन्म वा पुजापाठ गरेका कारण मानव सभ्यता यहाँसम्म आइपुगेको होइन । पारिस्थितिक प्रणालीको आधारमा विकास भएर आएको हो । यसकारण दृष्टी भ्रम गराई दिने कुनै मनोरोगमा लागेका मान्छेलाई भन्दा सूर्य, जल, जमिन, जंगल, हावा, आगो आदीलाई असली देवता बनेर प्रकृतिपुजक बन्न कुनै हिच्किचाहट मान्नु पर्दैन् ।
हिजोआज काठमाडौंमा रहेको ओशो तपोवनमा अहंकारले भरिएका धनाढ्य व्यक्तिहरू, कर छली गरेको भनेर समाचारका मुख्य हेडलाइन बनेका, कसैको हत्यामा तारिख धाइरहेकाहरू, अख्तियारले डामेकाहरू, कालो धनका भकारीहरू, जनताले दुष्ट ठानेका राजनीतिकर्मीहरू आँखा बन्द गरेर नाचिरहेका, हाँसिरहेका देखिन्छन् । कुन राष्ट्रिय खुशीयालीमा तिनीहरूले त्यसो गरिरहेका हुन् ? अध्यात्मको प्यास नै नभएका त्यस्ता पात्रहरू बोधीसत्व प्राप्त गर्नकै लागी त्यसो गरिरहेका हुन कि मनोरञ्जनको लागि मात्रै ? अथवा परिक्षणको लागी मात्रै पो त्यसो गरिररेका हुन् कि ?
ओशोले विश्वका सबै समस्याको कारक तत्वकारूपमा राजनीतिकर्मीहरूलाई देख्दथे । महात्मा गान्धीमाथी समेत उनको निशाना थियो । गान्धी साँचो अर्थमा हिन्दू नभएको तर हिन्दूहरूको समर्थन प्राप्त गर्न हिन्दू भएको नाटक गरिरहेको उनको आरोप थियो । साम्यवादको नाममा विश्वभरी चलिरहेको तानाशाहको विरोधमाथि पनि ओशोले हिटलर, स्टालिन र माओको विरूद्धमा बोल्ने गरेका थिए । ओशोले राजनीतिज्ञहरूले मानवताका विरूद्ध सधैँ नै षड्यन्त्र गर्दै आएको बताएका थिए । तर, ओशो तपोवनका सञ्चालकको संगत सबैभन्दा धेरै कसैसँग छ भने त्यो राजनीतिकर्मीहरूसँगै छ । जंगल विनास गरेर बनाइएको तपोवनमा तिनीहरूको लागी होटल द्वाकिकाको भन्दा पनि धेरै सुविधा सम्पन्न ‘स्वीट रूम’हरूको निर्माण गरिएको छ ।
आध्यात्ममा लाग्न चाहेको वा ‘इनलाइटेन्ट’ हुन खोजेका मान्छेहरूलाई किन र के प्रयोजनका लागी त्यसप्रकारको सुविधायुक्त ‘स्विट रूम’ चाहियो ? के तपोवन थाइल्याण्डको पतैया हो ? वा इण्डोनेसियाको बाली हो ? पुँजीवादी हुलमुललाई ओशोले भीडतन्त्रका रूपमा ग्रहण गरेका थिए र यसका विरूद्ध गुणतन्त्र (मेरिटोक्रेसी)को प्रस्ताव अघि सारेका थिए । तर, राजनीतिकर्मीहरू मात्रै हैन, सिर्जनात्मकताको एक चिम्टी चेत नभएका, कालो बजारको बागडोर सम्हालिरहेका माफीयाहरू पनि ओशो तपोवनतिरै धेरै धाइरहेको देखिन्छ । के ओशो तपोवन पापीहरूको पाप पखालिदिने गंगा, जमुना नदी जस्तो हो ?
ओशोको विचारमा धर्म परजीवी जस्तै हो, यसले मानिसको शोषण गर्छ । मानिसलाई दास बनाउँछ र उनीहरूलाई बलपूर्वक कुनै एक विश्वासमा लिप्त गराउँछ ।
अहिले तपोवन एउटा धार्मिक मुख्यालय जस्तो देखिएको छ, जहाँ जिसस क्राइस्ट, बुद्ध, शिव लगायतको मूर्ती बनाइएको छ । आरती उतार्ने काम भईरहेको छ । यसरी मानिसहरूको विश्वासमाथी एकप्रकारको धोकाधडी गरेर अध्यात्मवादको नाममा कर्मकाण्ड र कर्मकाण्डको नाममा काल्पनिक विश्वास निर्मित गरेर ओशो तपोवनले पैसा भएको तर चेतना नभएको मानिसहरूको मति मन्द गराइरहेको छ ।
आफूसँग कुनै दैवी शक्ति छ भनेर दावी गर्नेहरूले निमुखा मनुष्यलाई आज्ञापालन गर्न लगाएजस्तै, पुरोहितहरूले भक्तलाई आज्ञापालक बनाए जस्तै, पैसावालहरूले नोकरलाई चाकरी गर्न लगाएजस्तै, राजनीतिकर्मीहरूले आफ्ना कार्यकर्तालाई जयजयकार गर्न लगाएजस्तै, ती रातोपीरो अनुहार भएको मान्छले अध्यात्मको नाममा अज्ञानीहरूलाई आज्ञापालन गराइरहेका छन् ।
त्यसप्रकारको आज्ञापालनले मानिसहरूको खुशी, सौन्दर्य र प्रेमको उचाई बढाउनमा कुनै सहयोग पुगेको छैन । बरू तिनीहरूको ‘इनलाइटेन्ट’ हुन चाहने इच्छा शक्तिलाई धनाढ्यहरूले ‘ओभरटेक’ गरिदिएका छन् ।
भारतमा यस्ता कैयौ धर्मभिरूहरू छन् । गुरमित सिंह हुन् वा रहिम, यी नाम धारी बाबा भनिनेहरूमध्ये कतिपय बलात्कार काण्डमा दोषी करार भएका छन् । उनीहरू जेल चलान भएपछि भारतभित्रको धार्मिक पाखण्डता उदाङ्गो भएको थियो ।
हालै नेपालमा पनि एकजना बाबालाई बलत्कारको आरोप लागेको थियो । तिनले औंठा छापको दस्तखत बटुलेर आफ्नो आज्ञापालन गर्न भक्तहरूलाई कसम खुवाएर छाडेका छन् । विकृतिको पर्खालभित्रका, आम मानिसको पहुँच नहुने बख्तरबन्द जस्तो इलाकामा जे पनि हुन सक्छ । तिनले सामाजिक हैसियत प्राप्त गर्न सामाजिक पहिचान बनाएकै व्यक्तिलाई प्रयोग गर्दै आइरहेका छन् ।
गाउँमा जनताले बिजुली पाएको छैन । काठमाडांै, पोखरा मात्र नेपाल हैन । कुलमान घिसिङलाई विद्युत विकास र विस्तारको काम थाती राखेर ओशो तपोवनमा गएर नाँच्नु पर्ने के बाध्यता आइपरेछ ? नारायणकाजीलाई कुनै त्यस्तो वैराग्य चलेको भए पार्टी अध्यक्षबाट टीका र आशिर्वाद ग्रहण गरेर जनवादी विहे गरे भइहाल्थ्यो । ओशो तपोवनमा गएर थपडी बजाउनुपर्ने कुन प्रकरण आइपर्यो ? मान्छेको जीवन सरल बनाउने अध्यात्मको मुख्य लक्ष्य हो ।
ओशोले आफ्ना कैयौं प्रवचनमा मानिसलाई स्वभाविकरूपमा बाँच्न प्रेरित गरेका छन् । तर, भगवान र भक्तहरूका बीचमा कुनै एजेन्ट त हुँदैन । त्यस्तै ओशोको अनुयायी बन्न पनि कुनै एजेन्टको खोजी गरिहरनु पर्दैन। तर, दुःखका साथ भन्नुपर्छ, नेपालको ओशो तपोवन धनाढ्यहरूको चर्तिकला देखाउने नाट्यशाला बनिरहेको छ ।
पत्रकार विजय कुमारले भने जस्तै आजको युग वैश्य युग हो । छिमेकी देश भारतमा नाम कहलिएका योगी बाबाहरू कर्पोरेट हाउसको मालिक भइरहेको देख्दा नेपालमा पनि ध्यानलाई कतै धन तिर डाइभर्ट गर्न त खोजिएको त हैन ? भन्ने प्रश्न उठ्छ ।
यसो हेर्दा, ‘मेडिटेशन इज नट नेसेसर, मेडिटेशन इज लक्जरी’ जस्तो देखिएको छ । ध्यान, योगको कुनै प्यास नभएका व्यक्तिहरू पनि केही बेरको रमाइलोका लागि तपोवन धाउन थालेका छन् ।
नेपालमा ध्यान केन्द्र कसको लागि बनाइएको हो ?साधकहरूको लागी हो की भ्रष्टचारीहरूको लागी हो ? तपोबनको योग साधकहरूको लागी भन्दा पनि राष्ट्रका बाधकहरूको लागि बढी जस्तो देखिन्छ । तपोवन एक प्रकारले भ्रष्टचारीहरूले सेटिङ गर्ने सुरक्षित स्थान बन्ने खतरा छ ।
रमाइलो गर्न, आराम गर्न थाइल्याण्ड, इण्डोनेसियाको बालीतिर गइरहने धनाढ्यहरू हिजोआज ओशो तपोबन धाउन थालेका छन् । अर्थतन्त्रको दृष्टीमा यो राम्रो कुरा हो तर अध्यात्मको दृष्टीमा चाहिँ यो के हो यसै भन्न सकिन्न । तर, यो चाहीँ भन्न सकिन्छ कि पुँजीवादीले अब अध्यात्मवादलाई पनि गोरख धन्दामा फसाएको छ । ओशोका नक्कली अवतारहरूको पनि द्रब्यका अगाडि ध्यान भंग भएको छ ।
युट्युवमा ओशोको प्रवचन सुनेको छु । गान्धीदेखि रेगनसम्मलाई गरेको आलोचना पनि सुनेको छु । तर, उनले कहिकतै डिप्रेशनको रोगीलाई निको पार्छु, रक्सीको लत लागेकाहरूलाई छुटाइदिन्छु, निद्रा नलागेकाहरूलाई सुताई दिन्छु भनेका छैनन् । र, आफूलाई भगवानको अवतारको रूपमा दावी गरेका पनि छैनन् ।
कुनै पनि व्यक्तिले ‘इनलाइटमेन्ट’को लागि अरू कसैको हातले टाउकोमा झट्का लगाइरहनु पर्दैन । त्यो त पाखण्ड हो ।
पूर्वजन्ममा आफू विहारको सम्राट भएको बताउने ती रातो–पिरो अनुहार भएका मान्छेले पूर्वजन्मका सारा स्मरणहरूको सहारा लिएर दोश्रो जन्ममा काठमाडौंको ओशो तपोवनलाई व्यापक बनाउन सफल भएका छन् । तर, पूर्वजन्ममा उनी सम्राट नभइ मगन्ते नै भएको भए पनि अध्यात्ममा लागेका व्यक्तिले म यस्तो थिए उस्तो थिए भन्दै हिड्ने विषय हैन ।
ओशोको मूर्ती बनाउने, कर्मकाण्ड गर्ने, अध्यात्मिक दर्शनलाई पैसाले किन्ने, पैसा नै तिरेर सन्यासी हुन पाईने पनि हुँदैन होला । भनिन्छ, संसारका दुईवटा आयाम छ । एउटा बाहिरको उथलपुथल छ र अर्को भित्रको शान्त आयाम छ । तर, तपोवनका केही दृश्य हेर्यो भने सबैभन्दा उथलपुथलको आयाम ओशो तपोवन भित्र छ । धनाढ्य सन्यासीहरूको चर्तिकला हेर्दा यस्तो लाग्छ अब बेचबिखन हुन बाँकी रहेको ‘अध्यात्मवाद’लाई पनि तिनीहरूले खरिद गरिसके ।
लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...