
रुसको जलसेनाले आगामी केही महिनामा नयाँ हाइपरसोनिक जिर्कोन क्रुज क्षेप्यास्त्र प्राप्त गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार घोषणा गरेका छन् ।
जलसेनाले यो हतियार लिन लागेको भए पनि यस हतियारको बारेमा धेरै जानकारी उपलब्ध छैन ।
आधिकारिक रूपमा ३एम२२ जिर्कोन भनिने यो हतियार समुद्रबाट प्रहार गरिने जहाजनिरोधी हाइपरसोनिक क्षेप्यास्त्र हो । सन् २०१९ मा पुटिनले पहिलोपटक यसलाई सार्वजनिक गरेका थिए ।
सन् २०२० को जनवरी महिनामा जिर्कोनको पहिलो परीक्षण गरिएको थियो । उत्तरमा रहेको ब्यारेन्ट्स सागरस्थित युद्धपोतबाट प्रहार गरिएको यो हतियारले ५०० किलोमिटर पर रहेको तारोमा प्रहार गरेको थियो ।
जिर्कोन क्षेप्यास्त्र ध्वनिको भन्दा नौ गुणा द्रुत गतिमा उड्न सक्छ । त्यो भनेको ११ हजार किलोमिटर प्रतिघन्टा भन्दा बढी हो । यस्तो द्रुत गतिको क्षेप्यास्त्र रोक्न शत्रुहरूलाई निकै गाह्रो पर्नेछ । अहिले उपलब्ध क्षेप्यास्त्रनिरोधी प्रणालीले यसलाई पत्ता लगाउन समेत गाह्रो छ ।
एन्टी शिप क्रुज क्षेप्यास्त्र भने पनि यसले जलमा मात्र नभई स्थलमा रहेका वस्तुलाई पनि निशाना बनाउन सक्छ ।
क्षेप्यास्त्रको दायरा मस्कोले घोषणा गरेको छैन । गत फेब्रुअरी महिनामा रुसी कमान्डर इगोर क्रोखमालले यसको अधिकतम दूरी १५ सय किलोमिटर रहेको बताएका छन् ।