१४ असार २०८३, आइतबार
परिवार सखाप भएको घटना

तारकेश्वर हत्या प्रकरणमा ९ पानाको ‘सुसाइड नोट’ : ‘मलाई खान दिइनस्, हेला गरिस्’

साउन १६, २०७९
तारकेश्वर हत्या प्रकरणमा ९ पानाको ‘सुसाइड नोट’ : ‘मलाई खान दिइनस्, हेला गरिस्’

काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीमा आफ्नो परिवारको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले लेखेको ९ पानाको सुसाइड नोट प्रहरीले फेला पारेको छ । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनले आफ्नी श्रीमतीलाई गुनासो पोखेको सुसाइड नोट लेखेका छन् । उनले सुसाइड नोटमा श्रीमती सुनिता काप्री पाण्डेले अनावश्यक रूपमा घरेलु हिंसामा प्रहरीमा उजुरी दिएको जनाएका छन् ।

उनले सुसाइड नोटमा ‘२०७७ माघमा अनावश्यक रूपमा प्रहरीमा उजुरी दिइस्’ भनेर लेखेको प्रहरीले बताएको छ । उनले १२ वर्ष कुवेतमा बसेर श्रीमती र छोराछोरीका लागि कमाएको कुरा पनि नोटमा उल्लेख गरेको प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरी अधिकारीका अनुसार उनले लेखेका छन्, ‘१२ वर्ष विदेशमा बसेर घरपरिवारका लागि कमाएको थिएँ । अहिले आएर मलाई हेला गरिस् ।’

सबै कुरा घरपरिवारका लागि गर्दागर्दै पनि खाना नदिएको र परिवारले हेला गरेकोदेखि श्रीमतीसँग प्रेम गरेको समेत उनले नोटमा उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए ।

पारिवारिक विवादका क्रममा ४१ वर्षीय दिनेश पाण्डेले छोराछोरीसहित श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनले ३५ वर्षीया श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिषको हत्यापछि आफूले पनि आत्महत्या गरेका प्रहरीको प्रारम्भिक अनुमान छ । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार श्रीमती र छोराछोरीमाथि धारिलो हतियारले प्रयोग गरेर उनले अर्काे कोठमा गएर आत्महत्या गरेका छन् । उनी पहिला कोठाको पंखामा झुण्डिन खोजेको तर त्यो सफल नभएपछि आफूलाई नै चक्कुले प्रहार गरेर आत्महत्या गरेको देखिएको छ ।

श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको विषयमा यसअघि पनि पटक–पटक विवाद भएको छिमेकीले बताएका छन् । छिमेकीहरूका अनुसार पाण्डे दम्पतीबीच श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको विषयमा पटक–पटक विवाद भएको थियो । दिनेशले श्रीमतीलाई परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउने गरेका थिए । उनकी श्रीमतीले भने आरोप अस्वीकार गर्दै आएकी थिइन् । यसअघि पनि पाण्डे दम्पतीबीचको विवाद बालाजु प्रहरी वृत्तसम्म पुगेको थियो । उनीहरूले प्रहरी वृत्तमा गएर छलफल समेत गरेका थिए । 

पाण्डेकी छोरी आर्मी स्कूलमा पढ्ने गर्थिन् । उनी बसमा स्कूल आउने/जाने गर्थिन् । बस लिन आउँदा आशिका नआएपछि बसका चालकसहित विद्यार्थीहरू बोलाउन घरमै जाँदा घटनाबारे थाहा भएको हो । झ्यालबाट भित्र हेर्दा सबैको शव देखेपछि उनीहरूसहित छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा रहेकाले हत्यामा अन्यको संलग्नता हुन नसक्ने प्रहरीको अनुमान थियो । ढोका फोडेरभित्र पस्दा पाण्डेले श्रीमतीसहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर आफैंले पनि आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । 

घरनजिकै उनीहरूले पसल समेत सञ्चालन गरेको छिमेकीले बताएका छन् । श्रीमान्को मोबाइल पसल र श्रीमतीको फेन्सी पसल रहेको बताइएको छ । पछिल्लो समय श्रीमती ‘सिजनल भिसा’मा बेलायत जाने तयारीमा थिइन् । उनले आफ्नो भिसा लागेको छिमेकीलाई सुनाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्