
नेपाली मनोरन्जनको दुनियाँमा महिला कलाकारहरूले आफूमाथि यौन शोषण गरेको खुलासा गर्ने गरेको छन् । विशेष गरेर निर्देशक तथा निर्माताहरू यस्तो विवादमा मुछिने गरेका छन् ।
बलिवुडमा पनि यस्तो विवादका घटनाहरू बेला–बेला सार्वजनिक भइरहन्छन् । भारतीय अभिनेत्रीहरूले आफूलाई निर्माता तथा निर्देशकले शोषण गरेका घटनाहरू बताउने गरेका छन् । यसैक्रममा पछिल्लो भारतीय अभिनेत्री मल्लिका सेरावतले बलिवुडमा हुने ‘कालो कर्तुत’को खुलासा गरेकी छन् । तर, उनको आरोप निर्माता निर्देशकहरू होइन, अभिनेताहरू माथि छ ।
मल्लिका सेरावत अंग प्रदर्शनका कारण चर्चामा छिन् । उनले फिल्ममा खुलेर अंग प्रदर्शन गरेकाले उनको छबी ‘बोल्ड अभिनेत्री’ रूपमा स्थापित छ । उनी बेला–बेलामा सञ्चारमाध्यममा समाचारको पात्र बनिरहन्छिन् ।
हालै उनले एक अन्तर्वार्तामा आफूले सम्झौता नगरेकाले थुप्रै चलचित्रहरूबाट हात धुनुपरेको खुलासा गरेकी छन् । उनले तत्कालीन समयका चलेका अभिनेता (हिरो)हरूले आफूसँग काम गर्न नमान्दा फिल्मबाट निकालिनु परेको बताएकी छन् । उनले अभिनेताहरूले आफूसँग काम गर्न नमान्नुको कारण आफूले उनीहरूसँग अनावश्यक सम्झौता गर्न नमान्नु रहेको पनि दाबी गरेकी छन् ।
चलेका अभिनेताहरूले आफूले नियन्त्रण गर्नसक्ने र आफूसँग सम्झौता गर्ने अभिनेत्रीसँग मात्र काम गर्न रुचाउने उनको आरोप छ । उनले भनेकी छन्, ‘तर, म त्यस्तो अभिनेत्री होइन, मेरो व्यक्तित्व त्यस्तो छैन ।’
उनले अन्तर्वार्तामा भनेकी छन्, ‘म आफूलाई कसैको इच्छा वा चाहनाअनुसार चलाउन सक्दिन । यदि कोही हिरोले तपाईंलाई रातको ३ बजे कल गरेर मेरो घर आउ भन्छ त्यस्तो बेलामा जानुपर्छ, जानु भएन भने सम्झनुहोस् तपाईं फिल्मबाट निकालिनुभयो ।’ उनले थपिन, ‘त्यस समयमा चलेका सबै हिरोहरूले मसँग काम गर्न नमानेकाले धेरै फिल्मबाट म निकालिएँ ।’
दीपिकाको बारेमा टिप्पणीः उनको तारिफ भयो मेरो आलोचना
मल्लिकाले अर्की चर्चित अभिनेत्री दीपिका पादुकोणको विषयमा पनि केही पहिलो टिप्पणी गरेकी थिइन् । उनले आफूले ‘मर्डर’ फिल्ममा गरेको अन्तरंग दृश्य दीपिकाले २००४ मै गरिसकेकी थिइन् । उक्त दृश्यका कारण दीपिकाको तारिफ भएको तर, आफ्नो भने आलोचना भएको उनको दुःखेसो छ ।