नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा गोलकिपर किरण चेम्जोङले आफ्नी प्रेमिकालाई फुटबल मैदानमै विवाहको प्रस्ताव गरेका छन् । पूर्वकप्तानसमेत रहेका किरणले सोमवार माल्दिभ्समा फुटबल मैदानमै आफूसँग विवाह गर्न प्रस्ताव गरेका हुन् ।
सोमवार माल्दिभ्समा भएको ‘धिवेही प्रिमियर लिग’को फाइनल खेलपछि फुटबल मैदानमै उनले प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको छ ।
उक्त लिगमा किरणले त्यहाँको माजिया स्पोर्ट एण्ड रिक्रएसन क्लबबाट खेलेका थिए । उक्त लिगको उपाधि उनी आबद्ध क्लबले नै जितेका थियो । लिगमा उनी उत्कृष्ट गोलकिपरको उपाधि जित्नसमेत सफल बनेका थिए ।
त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेको बताएका छन् । चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । उनीहरूले कहिले विवाह गर्ने भन्ने भने सार्वजनिक गरेका छैनन् ।
किरणनिकट स्रोतका अनुसार उनीहरूबीच नेपाल आएर चाँडै विवाहको मिति जुराइनेछ ।