
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताए । उनले विप्लव लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन आग्रह गरे ।
उनले सरकार अविच्छिन्न रहने भन्दै विप्लव समूहलाई गर्ने भनेको कारबाहीबाट पछि हट्नुपर्ने बताए । सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली शर्मा नेतृत्वको सरकारले धेरै मिहिनेत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।
सांसद भट्टराईले विपद् व्यवस्थापन प्राधिकरण निष्क्रिय भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले केहीदिन अघि मात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण संकलन गरी जनतालाई राहत दिन आग्रह गरे । भूकम्पको क्षतिको विवरण संकलन गर्ने काममा सरकारले ढिलासुस्ती गरेको उनको आरोप छ ।