
ललितपुर महानगरपालिकाभित्रको सडकमा नगरपालिकाको सक्रियतामा गरिएको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र महानगरबीच विवाद भएको छ । ललितपुरको नख्खु सडक र बखुन्डोलमा सडक जाम हुने समस्या हटाउन महानगरपालिकाले एकतर्फी सवारी आवत जावतको व्यवस्था गरेको र प्रहरीले भने हटाइदिएको कारण विवाद उत्पन्न भएको हो ।
ती ठाउँको सडकमा अत्यधिक जाम हुने समस्या समाधानको लागि सडकलाई एकतर्फी बनाएर समस्या समाधान गरेको तर, प्रहरीले पनि त्यसमा असहयोग गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।
सवारी ‘वान वे’ बनाउन राखिएका ट्राफिक संकेतका सामग्री प्रहरीले उठाएपछि महानगरपालिकाका प्रमुख महर्जनले उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीदेखि आईजीपी धिरजप्रताप सिंहसँग समेत कुराकानी गरेको तर उनीहरु महानगरपालिकाको काममा सकारात्मक नभएको उनले बताए ।
सडकलाई ‘वान वे’ बनाउँदा ट्राफिक प्रहरीसँग समन्वय नगरेको भन्दै प्रहरीले सडकमा राखेका ट्राफिक संकेत उठाएको थियो । ललितपुर महानगरका प्रमुख महर्जन भने एक साता अघि नै प्रहरीलाई पत्र पठाएको तर त्यसको जवाफ नआएपछि मौन स्वीकृति ठानेर काम गरिएको उनले बताए ।
आफूले ती क्षेत्रका सडकमा एकतर्फी सवारी चल्ने व्यवस्था मिलाएर सडक जामको समस्या समाधान गरेपछि सबैतिरबाट स्याबासी पाएको तर, ट्राफिक प्रहरीले भने कुरा नबुझेको महर्जनले बताए ।
बखुन्डोलको ब्रिटिस स्कुल नजिक र नख्खु पुलबाट चक्रपथतर्फ आउँदा दायाँतर्फ मोड्न नपाइने नियम बसालेपछि ट्राफिक जाम हटेको महर्जनको दावी छ । सवारी जाम हुने समस्या समाधान गर्न यसअघि पनि विभिन्न ठाउँको सडक एकतर्फी बनाइसकिएको उनले बताए । अहिले एकतर्फी बनाएको आठौं र नवौं सडक रहेको महर्जन बताउँछन् ।
प्रहरीका उच्च अधिकारीहरुसँग सडक व्यवस्थापनबारे विवाद भए पनि महर्जनले भने पुनः ती स्थानमा ट्राफिक राखेर सडकलाई एकतर्फी बनाएर फर्किएका छन् ।