
कोशी नदीको भंगालो बस्तीमा पसेको छ ।
आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पस्न थालेको हो ।
बस्तीमा बाढी पसेपछि त्यहाँ उद्दारको काम शुरू गरिएको बेलका नगरपालिकाका उपप्रमुख जिरा राईले लोकान्तरलाई जानकारी दिइन् ।
उनका अनुसार बेलकाको वडा नम्बर १,२,८ र ९ बढी मात्रामा प्रभावित छन् ।
'करीब २५ सय घरपरिवार प्रभावित हुने अवस्था छ,' उनले भनिन् ।
बाढी पसेसँगै ती वडाहरूमा घरबस्ती खाली गरिएको छ ।
'कतिपय घरबाहिर निस्किसक्नुभएको छ,' उनले भनिन्,'कतिपय स्थानमा उद्दार हुँदैछ ।'
अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको उनले जानकारी दिइन् ।