
गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान शुरू गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
सप्तकोशीको पानीको बहाबले उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा कटान शुरू गरेपछि गृहमन्त्री खाँणले उद्दार तथा राहतका लागि निर्देशन दिएका हुन् ।
अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम गृहमन्त्री खाँणको निर्देशनमा शुरू भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए ।
गृहमन्त्री खाँणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गरेका छन् ।
कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला उदयपुर हो ।
गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाई विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासस्थानको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका छन् ।
गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ ।
विपद्मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाँणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिएका छन् ।
कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश ज्ञ प्रमुख डिआइजी गिरीले जानकारी दिए । अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको उनले बताए ।
नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीका उदयपुर प्रमुख एसपी बोहोराले बताए । आफूहरुले गृहमन्त्री खाँणले त्यही विषय जाहेर गरेको र त्यसपछि बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्न निर्देशन भएपछि त्यही अनुरुप आफूहरुले काम गरिरहेको बोहराले बताए ।
केही दिन अघि पनि सप्त कोशीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको पनि उनले बताए ।