चीनले गरेको कडा विरोधलाई बेवास्ता गर्दै अमेरिकाकी सभामुख न्यान्सी पलोसी मंगलवार (२ जुलाई) राति ताइवान पुगेकी छन् ।
ताइवानमा पलोसीले शीतयुद्धको भाष्यलाई दोहोर्याउँदै निरंकुशतन्त्रविरुद्ध सतिसाल झैं उभिएको ताइवानको लोकतन्त्रलाई जगेर्ना गर्न अमेरिकाले सहयोग गर्ने बताइन् । उनले ताइवान संसारको सबभन्दा स्वतन्त्र स्थानमध्ये एक रहेको घोषणा गरिन् ।
ताइवानलाई अटुट समर्थन गरेको भन्दै त्यहाँकी राष्ट्रपति त्साई इङ–वनले पलोसीलाई उच्च नागरिक सम्मान अर्डर अफ प्रोपिसियस क्लाउडमार्फत सम्मानित गरेकी छन् ।
पलोसी ताइवानको भूमिमा पुगेपछि चीनले पुनः आक्रोशपूर्ण बयान दिएको छ । अमेरिकाका लागि चिनियाँ राजदूत छिन गाङले अमेरिकालाई पलोसी भ्रमणबाट उत्पन्न नकारात्मक असरलाई तत्कालै सुधार्न तथा चीनको सार्वभौमसत्ता र सुरक्षालाई उल्लंघन गर्ने खतरनाक गतिविधि नगर्न आग्रह गरेका छन् ।
चिनियाँ अधिकारीहरूले यस भ्रमणका कारण उत्पन्न नकारात्मक प्रभावको जिम्मेवार अमेरिका नै हुने बताएका छन् ।
बयान दिएको मात्र नभई चिनियाँ सेनाले ताइवान वरिपरिको क्षेत्रमा बिहीवारदेखि सैन्य अभ्यास समेत थाल्ने जनाएको छ । अभ्यास अवधिभरि विदेशी जहाज वा विमान उक्त क्षेत्रमा नआउन समेत आदेश दिइएको छ ।
चीनका दुई विमानवाहक युद्धपोत समेत ताइवान नजिक तैनाथ गरिएका छन् । यसलाई नाकाबन्दी प्रयास भनी ताइवानको रक्षा मन्त्रालयले टिप्पणी गरेको छ ।
सैन्य गतिविधिसँगै चीनले ताइवानमाथि आर्थिक प्रतिबन्धको समेत घोषणा गरेको छ । ताइवानतर्फ निर्यात गरिने बालुवामा चीनले प्रतिबन्ध लगाएको छ । त्यस्तै ताइवानबाट चियापत्ती, ड्राई फ्रुट, तरकारी र माछा चीन आयात गर्न समेत प्रतिबन्ध लगाइएको छ । ताइवानले सबभन्दा धेरै कारोबार चीनसँगै गर्ने भएकाले प्रतिबन्धको असर बिस्तारै देखिनेछ ।
चीनले आपत्ति जनाएको अनि बाइडन प्रशासनले पनि रोक्न खोजेको भए पनि पलोसी किन जिद्दी गरेर ताइवान गएकी हुन् ? यसमा विभिन्न कारण छन् ।
पहिलो कारण त, डेमोक्रेटिक पार्टीकी सभामुख भएको नाताले पलोसी आगामी मध्यावधि निर्वाचनमा पार्टीको बहुमत कायम रहोस् भन्ने चाहन्छिन् । तर रुस–युक्रेन द्वन्द्वका कारण अमेरिकामा महंगी बढेपछि डेमोक्रेटिक पार्टी तथा राष्ट्रपति जो बाइडनप्रतिको जनआक्रोश चुलिँदो छ । त्यसबाट ध्यान भड्काउन पलोसीले कोशिश गरेकी हुन् ।
अर्को कुरा, राष्ट्रपति बाइडनको लोकप्रियता लगातार खस्कँदै जाँदा डेमोक्रेटहरू नै उनको विरुद्ध उभिन थालेका छन् । सीएनएनले हालै गरेको एक सर्वेक्षणमा ७५ प्रतिशत डेमोक्रेटहरूले सन् २०२४ मा बाइडन दोस्रो कार्यकालका लागि नलडून् भन्ने चाहना राखेका छन् ।
बाइडन र उपराष्ट्रपति कमला ह्यारिसपछिको मर्यादाक्रममा रहेकी पलोसीले भैपरिआएमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुपर्ने हुन सक्छ । ताइवान पुगेर चीनलाई चुनौती दिन सक्षम ‘आइरन लेडी’ का रूपमा आफूलाई उभ्याएर उनी राष्ट्रपति पदका लागि योग्य रहेको राजनीतिक सशक्तता प्रदर्शन गर्न खोज्दैछिन् ।
पलोसी हतियार व्यापारीहरूको पकडमा रहेको अमेरिकी संसद्की प्रमुख हुन् । राष्ट्रपतिको कार्यकारी अधिकारलाई समेत अंकुश लगाउन सक्ने हैसियत भएको संसद्की प्रमुखले बाइडन प्रशासनको अनुरोध समेत लत्याएर ताइवान गई त्यो शक्ति देखाइसकेकी छन् ।
युक्रेनमा रुसको आसन्न विजयसँगै युद्ध टुंगिन लागेको अनि यस युद्धप्रति अमेरिकी जनता असन्तुष्ट बनेको अवस्थामा अमेरिकी हतियार उद्योग अर्को एक युद्धको तानाबाना बुन्न उद्यत भएको छ । त्यस बारुदमा आगो लगाउने काम पलोसीले ताइवान भ्रमणमार्फत गरेकी हुन् ।
अमेरिकाले अत्याधुनिक हिमार्स हतियार र गोप्य सूचना दिएर युक्रेनी सेनालाई सशक्त बनाएको भए पनि रुसले युक्रेनको पूर्वी तथा दक्षिणी भागमा लगातार सफल भइरहेको छ । युक्रेनको काँधमा बन्दूक राखेर रुसविरुद्ध छद्मयुद्ध गरेको अमेरिका पराजित हुँदै गएपछि एसियामा अर्को युद्ध गरी लाज जोगाउन अमेरिका लागिपरेको छ ।
युक्रेन युद्धबाट उम्कने बहाना खोजिरहेको अमेरिका युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग अघाइसकेको संकेत अमेरिकी प्रशासनको भित्री कुरा थाहा पाउने द न्युयोर्क टाइम्सका स्तम्भकार टमस फ्रिडम्यानको ताजा लेखले दिइसकेको छ ।
पलोसी भ्रमणमार्फत चीनका राष्ट्रपति सी चिनपिङको शक्तिलाई समेत अमेरिकाले परीक्षण गर्न खोजेको हो । सन् २०२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन आयोजना गरिँदैछ । उक्त महाधिवेशनले राष्ट्रपति सीलाई अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित गर्ने सम्भावना छ ।
तर चीनको चेतावनीलाई बेवास्ता गर्दै पलोसी ताइवान पुगेको अनि चीनले सैन्य कारवाही गर्न नसकेको अवस्थामा सी कमजोर नेता रहेछन् भन्ने भाष्य स्थापना गर्न अमेरिकालाई सजिलो हुने भएको छ । कमजोर सीलाई तेस्रो कार्यकाल चलाउन दिने विषयमा चिनियाँ नेताहरूले सोचविचार गरून् भन्ने अमेरिकी संस्थापनको सोच हुन सक्छ । यही मौकामा सत्ता परिवर्तन भएर सीको साटो अर्को कुनै तुलनात्मक उदारवादी नेता राष्ट्रपति बन्लान् कि भन्ने अमेरिकाको दाउ हुन सक्छ ।
तर चिनियाँ कम्युनिस्ट पार्टी व्यावहारिक र दीर्घकालीन रणनीतिमा चल्ने गर्छ । उत्तेजित भएर तत्काल सैन्य प्रतिक्रिया दिने उसको स्वभाव छैन । शत्रुलाई निकैचोटि चेतावनी दिँदा नटेरेपछि मात्र ऊ सैन्य विकल्पमा जान्छ ।
कतिपय चिनियाँ र चीनसमर्थक विदेशीहरूले पलोसीको विमानलाई चिनियाँ सेनाले खसाइदिन्छ भनी अपेक्षा गरेका थिए । त्यसैले मलेसियाबाट लामो बाटो भएर ताइवान पुगेकी पलोसीको विमानलाई फ्लाइडरेडार २४ मार्फत लाखौं मानिसले मंगलवार ट्र्याक समेत गरेका थिए ।
तर पलोसीलाई लोकतन्त्रको शहीद बनाएर पूजा गर्ने अवसर चीनले दिएन । त्यसमाथि पलोसीको विमान ताइवानको भूमिमा अवतरण नगर्दै खसाइएको भए चीनको लक्ष्मणरेखा उल्लंघन नगरेकी पलोसीलाई चीनले अनावश्यक आक्रामकता देखाएको ठहरिन्थ्यो र अमेरिकाले माथि पर्ने अवसर पाउँथ्यो । पलोसी ताइवानको भूमिमा टेक्दा चाहिँ चीनको लक्ष्मणरेखा उल्लंघन भएको छ ।
पलोसीलाई ताइवानको भूमिमा टेकाएर यसरी अमेरिकाले चीनविरुद्ध आफ्नो रणनीतिक चाल चालेको छ । अब त्यसको जवाफ फर्काउने चुनौती चीनलाई छ । यस प्रकरणले सीलाई ताइवान पुनरेकीकरण गर्ने लक्ष्य शीघ्र हासिल गर्न दबाब समेत दिनेछ ।
अहिलेसम्म अमेरिकी अर्घेल्याइँलाई भाषिक चेतावनीमार्फत मात्र जवाफ फर्काइरहेको चीनले आर्थिक तथा सैन्य उपाय अपनाउनुपर्ने अवस्था आएको चिनियाँ विश्लेषकहरू बताउँछन् । चीनले कस्तो जवाफ फर्काउला भनी पूर्वानुमान गर्न सकिन्न ।
तर तातो प्रतिक्रिया नजनाएकाले कालान्तरमा अमेरिकालाई घुच्चुकमै हानेर थला पार्ने रणनीति चीनले अपनाउन सक्छ । त्यो भनेको आर्थिक क्षेत्र हो । कोभिड महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण अमेरिकी अर्थतन्त्र संकटोन्मुख स्थितिमा छ ।
त्यसमाथि चीन र अमेरिकाबीच लामो समयदेखिको व्यापारयुद्धका कारण पनि अमेरिकामा मूल्य घट्न सकिरहेको छैन । अमेरिकाको आपूर्ति शृंखला चीनसँग गहिरो गरी जोडिएको छ र चिनियाँ आयातको भरपर्दो विकल्प खोज्न अमेरिकालाई सहज हुने छैन ।
अमेरिकाको यही कमजोरीलाई चीनले दण्ड दिनका लागि उपयोग गर्न सक्छ । अमेरिकासँगको कारोबार चिनियाँहरूले रोकेमा अमेरिकी अर्थतन्त्रमा गम्भीर आघात पुग्नेछ । यसले चीनलाई पनि असर त पर्नेछ तर पैसाको पछि दौडिने भौतिकवादी अमेरिकीहरूको विपरीत चिनियाँहरू दुःख सहन तयार हुन्छन्, आफ्नो सार्वभौमसत्तामाथिको प्रहार सहँदैनन् ।
ताइवान जलसन्धि (स्ट्रेट) संसारको सबभन्दा व्यस्त जल आवागमन क्षेत्रमध्ये एक हो । चीनले त्यहाँ तथा दक्षिण चीन सागरमा दबाब बढाएमा अमेरिका मात्र नभई संसारका सबै मुलुकले खतरनाक आर्थिक परिणाम बेहोर्नुपर्ने हुन्छ । त्यसले पार्ने राजनीतिक असरबाट अमेरिका समेत अछुतो रहने छैन ।
चिनियाँहरूले अमेरिकी अर्थतन्त्रमा चोट पुर्याउने गरी कारोबार ठप्प पारेमा मूल्यवृद्धि धान्नै नसकिने हुन्छ । त्यसले सत्तारूढ डेमोक्रेटिक पार्टीलाई मध्यावधि निर्वाचनमा लज्जास्पद परिणाम दिलाउने अनि पलोसीलाई सभामुख पदबाट हटाउने पक्का छ ।
त्यसैले अमेरिकाले अहिले चीनलाई चिढ्याउनुपर्ने कुनै कारण थिएन भनी पश्चिमकै बुद्धिजीवीहरूले बताइरहेका छन् । पश्चिमका प्रमुख सञ्चारमाध्यममा आएका विश्लेषण पढ्दा पलोसीको भ्रमण व्यर्थको उत्तेजनात्मक गतिविधि भएको निष्कर्ष निकाल्न सकिन्छ ।
तर चीनसँगको सम्बन्धलाई रसातलमा पुर्याएर युद्धको वातावरण निम्त्याउने अमेरिकी हतियार उद्योगको अभीष्टलाई पलोसीले साकार पारेकी छन् ।
यस घटनाक्रमले विश्व व्यवस्था परिवर्तनको गतिलाई थप तीव्र बनाउन सक्छ । रुससँग मिलेर चीनले अन्तर्राष्ट्रिय राजनीतिमा पश्चिमी प्रभुत्वलाई ध्वस्त पार्नका लागि पलोसी प्रकरणले प्रेरित गर्ने देखिन्छ ।