
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विपद्का जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्व तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र निर्माण भएको प्रहरी भवनको बुधवार शुभारम्भ गर्दै अविरल वर्षाका कारण उत्पन्न डुबान, बाढी, पहिरो लगायतका सम्भावित विपद् क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन गरेका हुन् ।
‘अपराध अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन लगायत विपद् उद्धार कार्यमा प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्यसम्पादन गर्दै आएको छ । कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नुपरेको दृष्टान्त छन्, यसकारण परिस्थितिअनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयतर्फ ध्यान दिन जरूरी छ,’ उनले भने ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताए ।
उनले उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले नवनिर्मित भवनले गणमा कार्यरत प्रहरी कर्मचारीलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गरे ।
भवन २२ करोड ९० लाख ७१ हजार १९२ लागतमा निर्माण सम्पन्न भएको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।