काठमाडौं, १३ साउन- प्रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी कर्मचारीको सामूहिक सरुवा गर्ने तयारी गरिरहेका बेला प्रहरी निरीक्षक वसन्त शर्माले सुटुक्क पोखरा लेकसाइडको बैदाम वडा प्रहरी कार्यालयमा आफ्नो सरुवा गराए । तर, प्रधान कार्यालयले सरुवा गरिनसक्दै गृहमन्त्री जनार्दन शर्माका भतिजा शर्माले ‘लोभलाग्दो’ ठाउँमा बाजी मारे, अन्नपूर्ण पोस्टमा खबर छ ।

गृहमन्त्री शर्माले सरुवा तथा बढुवामा शक्तिकेन्द्र धाउने प्रहरी कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिइरहँदा उनले आफ्नै प्रभावमा भतिजाको काज सरुवा गराएका हुन् । आकर्षक ठाउँमा सरुवाका लागि प्रहरी कर्मचारी महानिरीक्षकदेखि गृहमन्त्री र राजनीतिक दलका नेतालगायत शक्तिकेन्द्र चाहार्ने गरेका छन् । ‘काम गरेर देखाउन सक्ने र सबैले देख्न सक्ने ठाउँमा प्रहरी सरुवा चाहन्छन् । यसैले शक्तिकेन्द्र धाउने परम्परा बसेको हो’, प्रधान कार्यालयका एक वरिष्ठ अधिकृत भन्छन् ।
ललितपुर प्रहरी परिसरअन्तर्गत नगर प्रहरीमा दरबन्दी रहेका शर्मा ‘काज’मा बैदाम पुगेका हुन् । निकै आकर्षक मानिने यो इलाका प्रहरी कार्यालयको इन्चार्ज नै प्रहरी निरीक्षक हुने भएकाले त्यहाँको इन्चार्ज बन्न दर्जनौं प्रहरी निरीक्षक आकांक्षी थिए । १६ महिनाअघि बैदाम प्रहरी कार्यालयका इन्चार्ज भएका प्रहरी निरीक्षक मोहनमणि अधिकारीलाई भने काजमा महानगरीय अपराध महाशाखा ल्याइँदै छ।
शर्मा र अधिकारी दुवैको यसपटक सरुवा हुने निश्चितप्रायः थियो । नियमावलीअनुसार विशेष परिस्थितिबाहेक प्रहरी कर्मचारीको एक ठाउँको दरबन्दी एक वर्ष पुगेपछि सरुवा हुन्छ । कमाइका दृष्टिले आकर्षक मानिने जिल्ला, वृत्त, इलाका तथा वडा प्रहरी कार्यालय हुन् ।
नियमावलीमा प्रहरी कर्मचारीको सरुवा गर्दा शैक्षिक योग्यता, तालिमस्तर, ज्ञान र सीप, कार्यदक्षता, शारीरिक क्षमता तथा व्यक्तिगत चाहना र रुचिमा ध्यान दिइने उल्लेख छ । यस्तै, अतिरिक्त महानिरीक्षकलाई सरकारले, वरिष्ठ प्रहरी उपरीक्षक र नायब महानिरीक्षकलाई गृहमन्त्रीले, प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्म महानिरीक्षकले सरुवा गर्ने अधिकार छ । एआईजीले आफ्नो क्षेत्र (हाल विकास क्षेत्र)भित्र प्रहरी निरीक्षक सम्मको सरुवा गर्ने अधिकार हुन्छ ।