
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन दिएका छन् ।
उनले अधिकांश जिल्लाका कार्यालय प्रमुख व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको टिप्पणी गरे ।
कर्णाली प्रदेश सरकारको बिहीवार सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्री र सचिवको नाम बेचेर पैसा असुल्ने धन्दामा नलाग्न कर्मचारीलाई आग्रह गरे ।
उनले भने, ‘यस्तो प्रवृत्तिले प्रदेशको काम कसरी हुन्छ ? अबको ४ महिनाभित्र प्रतिफल निस्कने गरी काम गर्न मैले तपाईंहरू सबैलाई भनेको छु, मेरो कुरा किन सुन्नुहुन्न ?’
मुख्यमन्त्री शाहीले अगाडि भने, ‘पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत मुख्यमन्त्री कार्यालयमा आएको छ । राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय सहकार्यबाट नै प्रदेशको विकास हुन्छ । काम गर्नेले थोरै समयमा धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुँदोरहेछ ।’
कानूनभन्दा माथि कोही नभएकाले गलत कामतर्फ नलाग्न मुख्यमन्त्री शाहीले सुझाव दिए ।