
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानमा प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित प्रचण्ड जापान प्रस्थान गरेका हुन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ । प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।
यस्तै आइतबार नै प्रचण्ड नेपाली जनप्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।
त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ ।
प्रचण्डको भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने विश्वास लिइएको छ । पाँच दिने जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।