
सधैंको उपेक्षा, अभाव र उत्पीडनको जाँतोमा पिसिँदै आएका मधेसका मुसहर अब आफ्नै मेहनतले उभिन लागेका छन् ।
‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने पराले झुपड बस्तीका मुसहरले पछिल्ला केही वर्षयता आफ्नै पौरख र मेहनतले आयआर्जन र सञ्चय बढाएका छन् ।
महोत्तरीको गौशाला नगरपालिका–८ बेलगाछीका मुसहरको मेहनत अहिले अरुको लागि दृष्टान्त बनेको छ ।
कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेशा बनाउँदै आएका महोत्तरी जिल्लाका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर अहिले ६२ घरपरिवारका मुसहरको मेहनतले हराभरा देखिएको छ । केही वर्ष पहिलेको बगरमा फलफूलका बिरुवा हुर्कदैछन् । बारीमा मौसम अनुसारका तरकारीका लहरा लहलहाएका देखिन्छन् ।
‘हजुर, यसपालि वैशाखी तरकारी नै २० हजार रुपैयाँको बेचिएछ,’ बस्तीका हेमन्ती सादा मुसहरले भने, ‘घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ ।’
हेमन्ती नदीउकास बगरमा नगरपालिकाले उपलब्ध गराएको १ कट्ठा जग्गामा दिनरात नभनी नंग्रा खियाउँछिन् । ४ वर्षअघि शुरू गरिएको बगर खेती कार्यक्रमले यसअघि कुपोषणले दुब्लो जस्तो देखिने बालबालिका हरियो सागसब्जी खान थालेपछि शारीरिक रूपमा पनि हृष्टपुष्ट देखिन थालेका छन् ।
हेमन्तीजस्तै बस्तीका बुद्धुु, चहेन्द्र, बिल्टु, सौखीया, फुलो र नथुनीयाँ सादा पनि बगरमै आफ्नो मेहनत खन्याइरहेका भेटिन्छन् । ‘हजुर, यो खेतीले हाम्रो बानी पनि सुधारेछ,’ बगरमा फलेको भिण्डी टिप्दै भेटिएकी फुलो सादा भन्छिन्, ‘पहिले बनी (मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न) गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त तरकारी बेचेर पैसा हात पर्न थालेपछि रक्सी खाएर लड्ने हाम्रो बस्तीमा भेटिन छाडेका छन् ।’
खेतीले आर्जन र सञ्चय गर्ने बानी बसेपछि फजुल खर्च हुन छाडेको त्यहाँका मुसहर बताउँछन् ।
पहिले रक्सी खाएर मातेर लड्ने आफ्ना बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ । बगर खेती शुरू गरेयता २–४ हजारको गर्जो टार्न कुनै मालिक (मुसहरले आफूले मजदुरी गर्ने अन्य समुदायकालाई मालिक भन्छन्) गुहार्नु नपरेको बुद्धु बताउँछन् ।
आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैंचोमा बिहेवारी, मरनहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ ।
नदीउकास बगरको करीब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार संख्याको आधारमा १ कट्ठादेखि ३ कट्ठासम्म उपलब्ध गराइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासको सहकार्यमा २०७५ सालमा थालिएको बगर खेतीले केही वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बेलगाछी बस्तीका अन्य समुदाय बताउँछन् ।
हरियो सागसब्जी र तरकारी राम्रो उब्जेपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ । अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दंग छन् । ‘बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ,’ मनकामना महिला समूह ‘ख’मा आबद्ध पसुलिया सादा खुशी हुँदै भन्छन्, ‘अब लाग्छ, हाम्रा दुःखका दिन गए, २/४ पैसा सबैसँग छ ।’
बगर खेतीमा मुसहरलाई अभिप्रेरित गर्दै सामुदायिक विकास तथा पैरवी मञ्चले ४ वटा समूह गठन गरेको छ । जसमा बस्तीका सबै घरपरिवारका महिला संगठित गरिएका छन् । समूह बैठकमा बगर खेती गरिएको बालीको अवस्था, नानीहरू विद्यालय गए/नगएकाबारे समीक्षा र समूह बचतबारे छलफल हुने गरेको छ ।
बैठकमा बस्तीका गर्भवती छोरीबुहारी, सुत्केरी र ससाना नानीबारे पनि चासोपूर्वक छलफल हुने गरेको लालीगुराँस ‘क’ समूहकी पानवती सादा बताउँछिन् । लालीगुराँस र मनकामना ‘क’ र ‘ख’ नाउँका ४ वटा समूहमा बस्तीका सबै घरका महिला संगठित छन् ।
कृषि मजदुरी नै जीवन गुजाराको पेसा भएका मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर २ तिर भार बनाएर काँधमा बोकिने काम) काममा अब्बल मानिन्छन् । माटोसँग खेल्नु दिनचर्या नै भएका मुसहर समुदाय आफ्नो गुजाराबाहेकका अन्य सामाजिक गतिविधिमा हम्मेसी देखिँदैनन् । यद्यपि पछिल्ला दिनमा क्रमशः आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यो समुदायको पनि चासो बढ्दै जाँदा पछिल्लो पुस्ताका नानी विद्यालय जान थालेका छन् । – गोपालप्रसाद बराल/रासस