संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको संरक्षण र सरसफाइमा ध्यान दिन निर्देशन दिएका छन् । शनिवार बिहान पशुपति क्षेत्रको निरीक्षणपछि मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
अवलोकन निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका थिए । उनले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरू, विश्वरूपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन गरेका थिए ।
त्यस अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई निर्देशन दिए । उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउन निर्देशन दिए ।
मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उनले जानकारी लिएका थिए । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै उनले सुरक्षा, संरक्षण र सरसफाइमा ध्यान दिनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए । सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए ।