
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रहरीले ४ अर्ब बजेट माग्ने तयारी गरेको छ ।
प्रहरीले स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले अघिल्लो पटकभन्दा यसपालि बजेट धेरै चाहिने भन्दै ४ अर्ब बजेट माग्न लागेको प्रहरी प्रधान कार्यालय स्रोतले लोकान्तरलाई जानकारी गरायो ।
सर्वोच्च अदालतले असार १० गते समानुपातिकतर्फ कैदीबन्दी, निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी, सेना र सशस्त्र प्रहरीले पनि भोट हाल्न पाउने फैसला गरेपछि मतदानस्थल थपिने भएकाले बजेट धेरै चाहिने भन्दै बजेट माग्न लागेको छ ।
स्रोतका अनुसार लामो समयदेखि प्रहरीलाई आवश्यक पर्ने सवारीसाधनहरू नकिनेकाले ७०० सवारीसाधन किन्नका लागि बजेट धेरै आवश्यक परेको छ ।
विक्रम संवत् २०७० सालमा किनेका सवारीसाधन बिग्रेकाले त्यसलाई विस्थापन गर्नका लागि पनि नयाँ सवारीसाधनको आवश्यकता परेको प्रहरीले बताउँदै आएको छ । देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सरकारले प्रहरीलाई सवारीसाधनका लागि बजेट उपलब्ध गराएको थिएन ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार प्रहरीले स्थानीय तह निर्वाचनमा १ हजार २०० सवारीसाधन भाडामा लिएर चलाएको थियो ।
आगामी चुनावका लागि प्रहरीले १ हजार ५२९ पीकअप भ्यान तथा ११० वटा ‘वानटन’ गाडी र बस किन्नका लागि बजेट माग गर्ने तयारी भइरहेको प्रवक्ता राईले बताए । ‘प्रहरीले स्थानीय तह निर्वाचनमा १ हजार २०० सवारीसाधन भाडामा चलाएको थियो । अहिले १ हजार ६५० सवारीसाधन माग गर्ने तयारीमा छौं,’ डीआईजी राईले लोकान्तरसँग भने ।
उनका अनुसार प्रहरीलाई ७ हजार ८९४ सञ्चार सेट र हतियार आवश्यक रहेका छन्, जसका लागि पनि बजेट माग गर्न लागेको छ । स्थानीय तह चुनावमा प्रहरीले सेनाबाट हतियार सापट लिएर चलाएको थियो । पछिल्लो समय हतियारमा पर्नेभन्दा धेरै मूल्यमा किन्न लागेको भन्दै विरोध भएपछि रोकिएको छ ।
झण्डै १ लाख ५० हजार म्यादी आवश्यक पर्ने
प्रहरीले निर्वाचनका लागि पनि १ लाख ५० हजार म्यादी चाहिने आकलन गरेको छ । संघको निर्वाचनका लागि बनेको २५ सदस्यीय केन्द्र निर्वाचन परिचालन कमिटीले अघिल्लो चुनावमा १ लाख ५० हजार म्यादी प्रहरी आवश्यक पर्ने आकलन गरेको छ ।
स्रोतका अनुसार स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न र सुरक्षाका लागि थप म्यादी प्रहरी आवश्यक पर्ने जनाइएको छ ।
प्रहरी प्रवक्ता टेकप्रसाद राईले अघिल्लो चुनावभन्दा धेरै म्यादी प्रहरी आवश्यक पर्ने भएकाले अघिल्लो चुनावभन्दा यसपालि बढी म्यादीको माग गर्ने तयारी गरेको बताए । ‘अघिल्लो चुनावमा १ लाख १६ हजार मागेका थियौं । १ लाख पायौं, अहिले झन् धेरै आवश्यक पर्छ, त्यसकारणले थप माग्ने तयारीमा छौं तर कति माग्ने भन्ने अहिले यकिन भइसकेको छैन,’ प्रवक्ता राईले भने ।
एआईजी सहकुल थापाको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय निर्वाचन सुरक्षा कमिटी गठन
निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षाका लागि प्रहरीले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ ।
प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार केन्द्रमा एआईजीको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहितको कमिटी गठन भएको छ । प्रदेशमा एसएसपीको नेतृत्वमा एउटा कमिटी र जिल्लामा सिनियर प्रहरी अधिकृतको नेतृत्वमा निर्वाचनका लागि कमिटी गठन भएको छ । यी कमिटीले निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने बन्दोबस्तीदेखि निर्वाचनको सुरक्षाको काम गर्ने डीआईजी राईले बताए ।
अहिले प्रहरीले कति बजेट आवश्यक पर्छ, कुन सामग्री कति आवश्यक पर्छ, कसरी सुरक्षा दिने भन्ने विषयमा काम गरिरहेको छ ।
‘देशैभरिका निर्वाचन कमिटीले बजेटको खाका ल्याएपछि गृह मन्त्रालयमार्फत बजेट माग हुन्छ,’ प्रवक्ता राईले भने ।