
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएको छ । एमाले सांसद खगराज अधिकारीले प्रधानमन्त्री देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका हुन् ।
पूर्वगृहमन्त्री समेत रहेका सांसद सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिनुपर्ने नियमावली भए पनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको बताए । उनले सत्तापक्ष र सरकार संसद्प्रति जवाफदेही नभएकाले महिलाहरूको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दाबी गरे ।
मंगलवार आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताए ।
‘संसदप्रति सरकार, सत्तापक्ष नै जवाफदेही छँदै छैन सभामुख महोदय । अनि अहिले हामीले रोदन गरेर के हुन्छ ? सत्तापक्ष नै स्वयं तयार छैन’, उनले भने, ‘अहिलेसम्म सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि यो कार्यक्रम शुरु भयो ? उहाँ जवाफदेही हुनुहुन्छ ?’
सांसद अधिकारीले महिलाहरूसँग क्षमता भएकाले उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताए ।