
दक्षिण कोरियाका राष्ट्रपति यून सूक–योलले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीलाई भेट्न नमान्दा धेरैजना आश्चर्यमा परे ।
अमेरिकाको सद्भाव पाएको दक्षिणपन्थी सरकारका प्रमुखले राजधानी सौलमा छुट्टी बिताइरहँदा त्यहाँ पुगेकी पलोसीसँग प्रत्यक्ष भेटघाट गरेनन् ।
यसको विशेष कारण छ । पलोसीले ताइवान पुगेर ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) का संस्थापक मोरिस चाङलाई भेटेकी थिइन् । उनले चाङलाई सेमीकन्डक्टर बनाउने कारखाना (फ्याब्रिकेटिङ प्लान्ट) अमेरिकामा बनाउन आग्रह गरिन् ।
ताइवानबाट दक्षिण कोरिया पुगेकी पलोसीले त्यहाँ राष्ट्रपति यूनलाई भेटेर सामसङ कम्पनीलाई त्यसैगरी सेमीकन्डक्टर कारखाना अमेरिकामा बनाउनका लागि दबाब दिन खोजेकी थिइन् ।
अमेरिकी संसद्ले हालै पारित गरेको चिप्स ऐनको लभा उठाउँदै सामसङले कारखाना बनाउनुपर्ने उनको आग्रह थियो । तर त्यसो गर्दा सामसङको अमेरिकी सहायक कम्पनीले चीनलाई सेमीकन्डक्टर चिप बेच्न पाउँदैन ।
अहिले सामसङले निर्यात गर्ने ६० प्रतिशत चिप चीनतर्फ जाने गरेको छ । यूनले पलोसीसँग भेट गरेको भए सामसङ खुशी हुने थिएन ।
अमेरिका मुख्यभूमि चीनलाई चिप्सबाट वञ्चित गर्न मात्र चाहँदैन, अझ अमेरिकामा कारखाना खोलेर प्रविधि हस्तान्तरणका लागि दबाब दिन चाहन्छ ।
ताइवानमा टीएसएमसी नहुन्थ्यो भने त्यहाँको आर्थिक वृद्धि ऋणत्मक हुन पुग्थ्यो । टीएसएमसीले नै ताइवानी अर्थतन्त्रलाई धानिरहेको छ । तर कहिलेसम्म यस्तो स्थिति रहन्छ ?
अझ त्यसमाथि इन्टेल कम्पनीले सन् २०२४ मा टीएसएमसी हात पार्न लागेको छ । त्यसैले ताइवानको अर्थतन्त्र अहिले नै धरापमा छ ।
तेलको मूल्य प्रतिब्यारल १० डलरमा झरेमा साउदी अरबको अर्थतन्त्र जसरी धराशायी हुन्छ, ताइवानको टीएसएमसीको स्थिति पनि त्यस्तै हो ।
तर तेलको मूल्य नाटकीय ढंगले घटेमा पनि साउदी भूमिमा तेल रहिरहन्छ ।
यता अमेरिकाले टीएसएमसीलाई ताइवानमा नभई अमेरिकी भूमिमा चिप्स बनाउन लगाउन खोज्दैछ । यो ताइवानी अर्थतन्त्रलाई धराशायी बनाउने अमेरिकी योजना हो ।
यस्तै स्थिति दक्षिण कोरियामा नआओस् भनी राष्ट्रपति यूनले पलोसीसँग भेटघाट गर्न नमानेका हुन् ।