
भारतको बिहार राज्यमा सत्तारूढ दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धन तोडिएको छ ।
मुख्यमन्त्री आवासमा जदयूका सांसद र विधायकहरूको बैठक यसको घोषणा गरिएको हो ।
बैठकमा मुख्यमन्त्री नीतीश कुमारले भाजपाले जहिले पनि आफूहरूलाई कमजोर बनाउने कोशिश गरेको बताए । सन् २०१३ देखि अहिलेसम्म भाजपाले धोका मात्र दिएको उनको गुनासो छ ।
भाजपासँग सम्बन्ध टुटेपछि विपक्षी राष्ट्रिय जनता दल, कांग्रेस र वाम घटकहरूसँग मिलेर जदयूले सरकार बनाउनेछ । उनीहरूले नीतीश सरकारलाई समर्थन दिनका लागि पत्र पनि तयार पारिसकेका छन् ।
कांग्रेस विधायक शकील अहमदले नीतीश कुमार महागठबन्धनको मुख्यमन्त्री कायम रहने बताए ।
राजदका तेजस्वी यादवले ११५ विधायकको समर्थन नीतीशलाई सुम्पिने भएका छन् । उनले आफ्नो लागि गृह मन्त्रालयको माग गरेका छन् ।
केही समयपछि उनी राज्यपाल फागू सिंह चौहानलाई भेट्दैछन् ।